केपी ओलीले देश चलाए चराचुरुङ्गी समेत विदेश जान्छन् – दुर्गा प्रसाईँ

जनता संवाददाता
२०८० कार्तिक २० गते, सोमबार

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईँले नेपालमा हाल रजगज गरिरहने ३० नेता, १६ मारवाडी व्यापारी र १० बिचौलिया रहेसम्म देश नबन्ने ठोकुवा गरेका छन्।

उनीहरूको रजगज मनोमानी हटाएपछि मात्रै देश बन्न सक्ने प्रसाईँले दाबी गरे। त्यस कारण आफूहरू उनीहरुलाई रजगजबाट हटाउने अभियानमा रहेको उनको भनाई थियो।

उनको निजी निवास भक्तपुरको मध्यपुर थिमिमा भएको पत्रकार सम्मेलनमा उनले पालैपालो देश हाँकिरहेका नेपाली कांग्रेस, एमाले, माओवादीका गरी ३० नेता हटाउने अभियानमा रहेको बताए। साथै उनीहरुलाई प्रभाव पार्ने १६ जना मारबाडी व्यापारीलाई पनि कमजोर गर्नुपर्ने बताए। योसँगै १० जना बिचौलियाको प्रभाव पनि न्यूनीकरण गर्न आवश्यक रहेको उनले बताए।

विशेष गरी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र त्यस पार्टीका युवा नेता महेश बस्नेतमाथि खनिएका उनले नेपालका कम्युनिस्ट पार्टीहरू कम्युनिस्ट पार्टी, नभएर व्यापारी पार्टी रहेको दाबी गरे।

उनले महेश बस्नेतले भक्तपुरका ऐलानी जग्गालाई पर्ति गरेर भ्रष्टाचार गरेको आरोप समेत लगाए। एक घण्टा भन्दा बढी भाषण दिएका प्रसाईँले केपी ओलीलाई अबको दश वर्ष मात्रै शासन गर्न दिए नेपालमा मान्छे मात्र नभएर चराचुरुङ्गी पनि विदेश जाने ठोकुवा गरे।

‘केपी ओलीले देश चलाए काठमाडौँका शतप्रतिशत सटर बन्द हुन्छ। मानिसविहीन भएर काठमाडौंमा स्याल आउने थाल्छन्।’ उनी भन्छन् ‘त्यस कारण यस्ता ठूला दलका ठूला नेतालाई शासन सत्ताबाट हटाउनुपर्छ।’

मंसिर ७ गत राजधानीमा उनले गर्न लागेको बृहत् नागरिक मुक्ति आन्दोलन औपचारिक घोषणा तथा आन्दोलनकोबारेमा जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको थियो।

सम्मेलनमा प्रसाईँले आफूहरूले पाँच महिनादेखि घोषणा गर्दै आएको आन्दोलनको दिन नै एमालेले माइतीघरमा अर्को कार्यक्रम राखेर मुठभेड गर्न खोजेको बताए।

पत्रकार सम्मेलनको क्रममा प्रसाईँले ठूला दल र तिनले गरिरहेको लुटतन्त्र भन्दै अनेक प्रमाणहरू देखाएका थिए।

नेपाल भारत सीमाहरूमा भारु नक्कली पैसा राख्ने गोदाम बनाएको, आरजु राणाले २५ करोड घुस खाएको लगायतका चर्चा मात्रै नगरी उनले आफूले भुँइमान्छेका हितमा काम गर्दै गरेको भन्दै सहयोग पाएका महिलाहरूलाई निप मञ्च अगाडि ल्याएर पेश गरेका थिए।

सयौँको भीडमा भएको पत्रकार सम्मेलनमा उनले आफूले बैङ्कको व्याज तिर्दै आएको प्रमाण पनि देखाए। साथै उनले लघुवित्तबाट लिएका २५ लाख भन्दा कमको ऋण मिनाहा गर्नुपर्ने भन्दै नतिर्न अनुरोध गरे।

प्रकाशित मिति : २०८० कार्तिक २० गते, सोमबार


Scroll to Top

Janata Media