आजदेखि नेपाल संवत् ११४४ को शुभारम्भ

जनता संवाददाता
२०८० कार्तिक २८ गते, मंगलवार

काठमाडौं । आजदेखि नेपाल संवत् ११४४ को शुभारम्भ भएको छ । यस अवसरमा देशभर विविध कार्यक्रम आयोजना गरिदैछ। यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।

राष्टिय विभूति शंखधर साख्वाले वि सं ९३७ मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात् गराएका थिए ।नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा‍ त्रिरत्न मानन्धरले जानकारी दिए । २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ ।

नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा विशेष रुपमा मनाउने गरिन्छ । २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले साख्वालाई राष्टिय विभूति घोषणा गरेको थियो ।

२०६५ सालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेको थियो । आजदेखि सरकारले सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०८० कार्तिक २८ गते, मंगलवार


Scroll to Top

Janata Media