काठमाडौँ । सरकारले टिकटक सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरे पछि त्यसको पक्ष, विपक्षमा बहस भइरहेका बेला नेपाल दूरसञ्चार प्राधिकरणले प्रभावकारी कार्यान्वयनका लागि तयारी अघि बढाएको छ ।
प्राधिकरणको निर्देशन पछि दूर सञ्चार सेवा प्रदायकले टिकटकमा रोक लगाएका छन् । यद्यपी भिपिएन लगायतका एप्स प्रयोग गरेर प्रयोगकर्ताले टिकटक प्रयोग गरिरहेको अवस्थामा प्राधिकरणले निर्देशक विजयकुमार रायको नेतृत्वमा प्राविधिक समिति गठन गरेर टिकटकको प्रयोगको रोकलाई प्रभावकारी बनाउने प्रयास गरेको छ ।
प्राधिकरणले रायको संयोजकत्वमा इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आएस्पान) का अध्यक्ष सुधीर पराजुली, सञ्चार मन्त्रालयका प्रतिनिधि सहित सदस्य सचिवमा प्राधिकरणकी रोजाकिरण बासुकला रहेको समिति बनाएको छ । समितिले टिकटकको अनुगमन गरेर एक सातामा प्राधिकरणलाई प्रतिवेदन पेस गर्नेछ ।
सरकारको निर्णयमा टिकटक कम्पनीले असहमति प्रकट गरे पछि प्राधिकरणले नेपाल सरकारको निर्णयलाई सहयोग गर्न आग्रह गरेको थियो । सरकारले २७ कात्तिकमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरे पछि अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको भन्दै सञ्चालनको माग गर्दै सर्वोच्च अदालतमा रिट समेत दायर भएका छन् ।







