
सुर्खेत । ढोग (दर्शन) नगरेको भन्दै कुटपिट गर्दा सल्यानमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागचौर नगरपालिका-७ कोटबारा पुरानछाप निवासी २० वर्षीय घनश्याम ओली रहेका छन् । उनलाई छिमेकी गाउँ स्याँलाका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीले ४ कार्तिकमा कुटपिट गरेका थिए ।
सोही दिन गाउँको भलिबल खेल्ने मैदानमा सहभागी सबैजना सहभागी थिए । स्याँला गाउँबाट आएका केशर र सन्तोषले घनश्यामलाई हामीहरू तेरो दाई पर्छौं ढोग गर भनेर भनेका थिए । तर, घनश्यामले ढोग दिएनन् । त्यसपछि उनीहरूले कुटपिट गरेका थिए । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नवीन कार्कीका अनुसार घाइते हुनेगरी कुटपिट गरेपछी घनश्यामको उपचारका क्रममा बुधबार भारतको लखनउमा मृत्यु भएको छ ।
परिवारले घनश्यामको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि दसैंको अघिल्लो दिन बागचौर स्थित जनप्रिय मेडिकलमा पुर्याएका थिए । डाक्टरले शरिर भित्र रगत जमेको र यहाँ उपचार सम्भव नहुँने बताएपछि नेपालगञ्ज हुँदै भारतमा लागेको प्रहरी प्रमुख कार्कीले बताए । कार्कीका अनुसार कुटपिट गर्ने सन्तोष ओलीलाई दाङबाट पक्राउ गरिएको छ भने केशर फरार छन् । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।