विद्यालय जान डराउँछन् बालबालिका

जनता संवाददाता
२०८० मंसिर ६ गते, बुधबार

काठमाडौँ । भूकम्पपछि विद्यालय जान बालबालिका डराउन थालेका छन् । दसैँतिहार र छठ बिदापछि सोमबारबाट विद्यालय खुले पनि विद्यार्थीको न्यून उपस्थिति रहेको छ । सानीभेरी गाउँपालिका–१, चाइनाबरगस्थित भेरी दोभान माध्यमिक विद्यालय कक्षा २ मा अध्ययनरत दिपेश पुनमगरले स्कुल जान डर लाग्ने गरेको बताए । भूकम्पमा परेर आमासँगै घाइते भएका पुनले स्कुलभित्र जाँदा फेरि भूकम्प आउँछ कि भनेर डर लाग्ने गरेको बताए ।

भूकम्पले घर भत्किएपछि पुनको परिवार त्रिपालमा बस्दै आएका छन् । विद्यालय कक्षाकोठासमेत बस्न नमिल्ने अवस्थामा रहेकाले स्कुल जान मन नलागेको पुनले बताए ।

विद्यालयमा सोमबार ३५ जना मात्र विद्यार्थी उपस्थित थिए । विद्यालय चौरमै विद्यार्थीको हाजिरी लिइएको प्रधानाध्यापक पूर्णबहादुर ओलीले जानकारी दिए ।

आठबिसकोट नगरपालिका–१४ का सुवास मल्लले आफ्नो बच्चा स्कुल जान नमान्ने गरेको बताए। मल्लकी छोरी शास्त्रा मल्ल स्थानीय आदर्श माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत छन् । मल्लले भनिन्, “घर भत्किएको छ, कापी किताब पुरिएका छन्, यता स्कुलका भवन भत्किएका छन्, बच्चाबच्चीले पढ्ने अवस्था नै छैन ।”

आदर्श माविका प्रधानाध्यापक तिलकनारायण मल्लले पर्व बिदापछि खुलेको स्कुलका सुरुवाती दिनमा कमै विद्यार्थी आएको बताए। विद्यालयका आठ वटा भवनमध्ये पाँच वटा पूर्ण र दुई वटा सामान्य क्षति भएका छन् । विद्यालयको होस्टेलसमेत भत्किएकाले टाढाका शिक्षक विद्यार्थीको बसाइमा समस्या भइरहेको प्रधानाध्यापक मल्लले जानकारी दिए।

उहाँका अनुसार विद्यालयमा उपस्थित विद्यार्थीलाई खुला चौरमा मनोपरामर्श सेवा दिएर पढाइको वातावरण सहज बनाउने कोसिस गरिएको छ ।

आठबिसकोट नगरपालिका–१४ को जनविकास माविमा समेत विद्यार्थीलाई मनोविमर्श सेवा दिइएको छ । मनोविमर्शकर्ता पार्वती बिसीले बालबालिका विद्यालय आउन असहज मान्ने गरेको बताइन् । उक्त विद्यालयका तीन जना विद्यार्थीको भूकम्पमा परेर ज्यान गएको थियो । भग्नावशेष घर देखेका बालबालिका उस्तै अवस्थाको विद्यालय देखेर कक्षाकोठामा उपस्थित हुने आँट नगरेको उहाँको बुझाइ छ । विद्यालयको प्राङ्गणमा बालमैत्री स्नेही केन्द्र सञ्चालन गरेर विभिन्न खेल र मनोरञ्जनको माध्यमबाट बालबालिकालाई पढाइप्रति रुचि बढाउन कोसिस गरिरहेको मनोविमर्शकर्ता बिसीले बताइन् ।

शिक्षा विकास तथा समन्वय एकाइ रुकुमपश्चिमका प्रमुख ताराप्रसाद पुनका अनुसार जिल्लामा ५२ विद्यालय पूर्ण र ७० विद्यालय आंशिक क्षति पुगेको छ । यसबाट ५६७ वटा कक्षाकोठामा क्षति भएको छ । पुनले भूकम्पका कारण विद्यालयका ५५ वटा शौचालय पूर्ण र ८३ वटामा आंशिक क्षति पुगेको जानकारी दिए ।

भूकम्पले विद्यालय भवनमा क्षति गरेपछि अस्थायी सिकाइ केन्द्र निर्माण गरेर पठनपाठन सुरु गर्ने प्रयास भइरहेको बताइन्छ । आठबिसकोटमा १३९, सानीभेरीमा ७४ र त्रिवेणी गाउँपालिकामा दुई वटा अस्थायी सिकाइ केन्द्रमार्फत पढाइ निरन्तर गरिने जनाइएको छ ।

प्रकाशित मिति : २०८० मंसिर ६ गते, बुधबार


Scroll to Top

Janata Media