देशको विकास गर्न सक्ने पार्टी एमालेले मात्र हो : केपी ओली

जनता संवाददाता
२०८० मंसिर १६ गते, शनिबार

मंगलसेन । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास एमालेको सरकारले मात्र गर्न सक्ने बताएका छन् ।

समृद्धिसहितको सङ्कल्प पदयात्राको क्रममा अछाम सदरमुकाम मङ्गलसेनमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । वर्तमान सरकारले देशको विकास र सुशासनमा कुनै काम नगरेको उनले टिप्पणी गरे ।

नागरिकले देशमा सुशासन र विकास चाहेको भन्दै एमालेको नेतृत्वमा सरकार भएमात्रै जनताले विकास पाउने दाबी गरे । “एमाले सरकारमा हुँदा झलमल्ल बत्ती बलेजस्तो हुन्छ । एमाले सरकारबाट हटेमा बत्ती गएजस्तै अँध्यारो हुन्छ” अध्यक्ष ओलीले भने ।

पश्चिम सेती, सेती लोकमार्ग, माथिल्लो कर्णाली जलविद्युत आयोजना, चिसापानी–जंगलघाट–मङ्गलसेनको फाष्ट ट्रयाकलगायतको विकासमा एमाले दृढ रहेको चर्चा गरे ।

वर्तमान सरकारले नागरिकको हितमा काम गर्न नसकेको भन्दै अध्यक्ष ओलीले गठबन्धन दलका नेताहरू स्वार्थमा केन्द्रित रहेको आरोप लगाए । वर्तमान सरकारका पालामा बेथिति मात्रै भएको उनले आरोप लगाए ।

अध्यक्ष ओलीले यसअघि अछामको वयालपाटा अस्पताल, वैद्यनाथ धाम लगायत ठाउँको अवलोकन गरेर जानकारी लिएका थिए । यस्तै साँफेबगर र चौखुट्टेमा समेत सम्बोधन गरेका छन् । भोलि आइतबार अध्यक्ष ओली मङ्गलसेनबाट दैलेखको राखममा राखेको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २०८० मंसिर १६ गते, शनिबार


Scroll to Top

Janata Media