फिलिपिन्समा ७.५ रेक्टरको भूकम्पको धक्का, सुनामीको चेतावनी

जनता संवाददाता
२०८० मंसिर १७ गते, आईतवार

काठमाडौँ । फिलिपिन्समा ७.५ रेक्टर स्केलको भूकम्प गएको छ। शनिबार अबेर दक्षिणी फिलिपिन्सको मिन्डानाओ केन्द्र बनाएर भूकम्प गएको हो।

जमिनी सतहभन्दा करिब ६३ किलोमिटर गहिराइमा गएको भूकम्पका कारण सुनामी आउने चेतावनी दिइएको छ। फिलिपिन्सको भूकम्प विज्ञान एजेन्सीले स्थानीय समयानुसार शनिबार मध्यरातमा सुनामी आउने र केही घण्टासम्म जारी रहनसक्ने बताएको छ।

अमेरिकाको सुनामी चेतावनी प्रणालीले फिलिपिन्समा केही घन्टासम्म ज्वारको स्तरभन्दा ३ मिटर माथिसम्म छाल आउनसक्ने बताएको छ। फिलिपिन्सको भूकम्पले जापानमा समेत सुनामीको चेतावनी दिइएको छ। जापानको दक्षिण–पश्चिमी तटमा १ मिटर माथिसम्म छाल आउनसक्ने बताइएको छ।

भूकम्पको केन्द्र रहेको फिलिपिन्सको तटीय शहर हिनाटुआनका स्थानीय प्रहरी प्रमुख रेमार्क रेमार्क जेनटालनले भूकम्पको धक्का महसुस भएपछि बिजुलीको आपूर्ति बन्द भएको बताएका छन्। अहिलेसम्म कुनै हाताहाती या क्षतिको विवरण प्राप्त नभएको उनले बताएका छन्।

प्रकाशित मिति : २०८० मंसिर १७ गते, आईतवार


Scroll to Top

Janata Media