पोखरामा प्याराग्लाइडिङ उडानको सिन्डिकेट तोडियो

जनता संवाददाता
२०८० मंसिर २९ गते, शुक्रबार

काठमाडौँ । पोखराको प्याराग्लाइडिङ उडानमा रहेको कार्टेलिङ अन्त्य भएको छ । अब प्याराग्लाइडिङ कम्पनीहरूले आफैँ शुल्क तोक्न र आफ्नै तरिकाले उडान भर्न पाउने छन् ।

नेपाल हवाई खेलकुद संस्था (ना) पोखराले बुधवार कम्पनीहरूले आफैँ उडाउन पाउने र दर पनि आफ्नै हिसाबले तोक्न पाउने निर्णय गरेको थियो । यो निर्णयले अहिले प्याराग्लाइडिङ पाइलटहरू आन्दोलित भएका छन् । नाले नेपाल नागरिक उड्डयन प्राधिकरणका नियमहरू पालना गर्दै खुला रूपमा उडान गर्न र रेट तोक्न भनेको छ ।

यसअघि पोखराका कम्पनीहरूले प्याराग्लाइडिङ उडानको बाह्र हजार शुल्क लिँदै आएका थिए । यो निर्णयपछि पाइलटहरूले उडान ठप्प पारेका छन् । नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबले नयाँ अवस्थामा उडान भर्न नसक्ने जनाएको छ । क्लबका अध्यक्ष दीपक थापाले निर्णयले बजार अस्वस्थ हुने र सुरक्षा चुनौतीसमेत देखिने जनाउँदै अर्को निर्णय नभएसम्मका लागि पाइलटहरूले उडान नभर्ने जानकारी दिए ।

केही पाइलटले भने यो निर्णयले छ, सात हजारमै उडान भर्नुपर्ने अवस्था आउने चिन्ता जनाएका छन् । अहिले ५२ वटा कम्पनी ना सँग आबद्ध छन् । तीमध्ये २१ कम्पनीले छाता संस्थाको निर्णय नमान्ने बताएपछि बुधवार मात्र आफ्नै तरिकाले शुल्क तोक्न र आफैँले सञ्चालन गर्न पाउने निर्णय गरिएको ना अध्यक्ष सुनिल भट्टराईले बताए ।

नयाँ निर्णयले प्याराग्लाइडिङ क्षेत्रमा काम गर्ने राम्रा कम्पनीलाई फाइदा हुने पर्यटन व्यवसायी गणेशबहादुर थापा बताउनुहुन्छ । प्राधिकरणले नालाई अनुगमन लगायतका केही अधिकार दिएको छ । सोही अधिकार प्रयोग गर्दै नाले नयाँ निर्णय लिएको हो ।

प्रकाशित मिति : २०८० मंसिर २९ गते, शुक्रबार


Scroll to Top

Janata Media