एक करोड बढी घुस लिएको आरोपमा पूर्व रजिष्ट्रार पराजुली पक्राउ

जनता संवाददाता
२०८० पुष ११ गते, बुधबार

काठमाडौँ । एक करोडभन्दा बढी रकम घुस लिएको आरोपमा सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिष्टार उदयबहादुर पराजुली पक्राउ परेका छन् । कास्कीको मित्रमिलन सहकारीको कार्यक्षेत्र थप गर्न रकम लिएको आरोपले प्रहरीले पराजुलीलाई पक्राउ गरेको हो

हाल पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका पराजुलीलाई बुधबार प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेको हो । केही दिनअघि जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन पराजुली आज कार्यालय गएका थिए ।

पराजुलीलाई कार्यस्थलबाटै पक्राउ गरी पोखरा ल्याउँदै गरेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए । “उहाँ आज कार्यालय जानुभएको रहेछ, अहिले पोखरा ल्याउँदै छौँ, बाटोमा हुनुहुन्छ,” थापाले भने ।

कुश्मा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुनुअघि उहाँ सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीमा रजिष्ट्रार हुन् । सोही अवधिमा मित्र मिलनको कार्यक्षेत्र थप गर्ने विषयमा पराजुलीले रकम लिएको सहकारीका सञ्चालकहरूको बयानमा खुलेको र छानबिनमा क्रममा रकम लिएको देखिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा एक करोड पाँच लाख रुपियाँ पराजुलीले लिएको देखिएको थियो । मित्रमिलनको रकम अपचलन अभियोगमा अहिलेसम्म पराजुलीसहित छ जना पक्राउ परिसकेका छन् । पोखरा २१ का वडाध्यक्षसहित दुई दर्जनभन्दा बढी अझै फरार छन् । फरारहरूको खोजी भइरहेको र अनुसन्धान जारी रहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

मित्रमिलन सहकारीका सात सय ४४ बचतकर्ताले रकम फिर्ताको मागसहित जिल्ला प्रहरी कार्यालय कास्कीमा उनीहरुविरुद्ध जाहेरी दर्ता गरेका छन् । उनीहरूको दाबी २० करोड हाराहारी छ ।

प्रकाशित मिति : २०८० पुष ११ गते, बुधबार


Scroll to Top

Janata Media