
सल्यान । सल्यानमा नेपाल प्रहरीमा जागिर लगाई दिन्छु भन्दै तीन लाख रकम असुली गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
सल्यान कालिमाटी गाउँपालिका २ कट्विरका अन्दाजी २५ वर्षीय भोला पुन मगरले जागिरको प्रलोभनमा पारी ६ जनाबाट ३ लाख ठगी गरेको आरोपमा सल्यान त्रिवेणी गाउँपालिका ६ लुहामबजारबाट पक्राउ गरेको हो ।
कालिमाटी(२ टाट्केका सुशिल कुमार पुन, योगेन्द्र थापा, जनक केसी, सुरेश खत्री, नेत्रलाल केसी र महेश कुमार केसीलाई जवान र असईमा भर्ना गरी जागिर खुवाई दिने लोभ लालच र प्रलोभनमा परी प्रतिव्यक्ति ५० हजारका दरले ३ लाख ठगी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिए ।
निज पुन मगरले आफ्नो प्रहरीका उच्च पदस्थ अधिकारीसँग राम्रो सम्पर्क रहेको र पहिले पनि धेरै जनालाई जागिर लगाई दिई सकेकाले शतप्रतिशत काम हुन्छ भनी पीडितहरूलाई आफ्नो घरको काममासमेत लगाउने गरेको प्रहरीको भनाई छ ।
पीडितहरूले की प्रहरीमा जागिर लगाई दिन की पैसा फिर्ता गर्न आग्रह गर्दा मगरले म दिँदैन, तिमीहरूले मलाई पैसा दिएका छैनौँ, जे गछौं गर भने पछि पीडितहरूले पुस ८ गते इलाका प्रहरी कार्यालय लुहाममा जाहेरी दिएका थिए ।