बालकुमारी घटना : मृतकका परिवारलाई १० लाख राहत दिने सरकारको निर्णय

जनता संवाददाता
२०८० पुष १४ गते, शनिबार

काठमाडौं । सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई जनही १०र१० लाखका दरले राहत उपलब्ध गराउने भएको छ ।

शनिबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो घटनाका मृतक दैलेखका सुजन रावत र अछामका वीरेन्द्र साहको परिवारलाई १०र१० लाखका दरले राहत उपलब्ध गराउने निर्णय हो ।

सो घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् ।

बैठकले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना समेत व्यक्त गरेको छ । त्यसैगरी मन्त्रिपरिषद् बैठकले सो घटनामा परी घाइते भएकाको सम्पूर्ण उपचार खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको पनि सञ्चारमन्त्री शर्माले बताईन् ।

सो घटनामा निष्पक्ष छानबिन गरेर दोषीलाई कडा कारबाही गर्न र आगामी दिनमा त्यस्ता प्रकृतिका घटना हुन नदिन पनि गृह मन्त्रालयलाई मन्त्रिपरिषद् बैठकले सचेत गराएको छ । सरकारले सो घटनालाई संयमतापूर्वक लिएर शान्ति सुरक्षाको वातावरण बिग्रन नदिन पनि सबैलाई अपिल गरेको छ ।

प्रकाशित मिति : २०८० पुष १४ गते, शनिबार


Scroll to Top

Janata Media