काठमाडौं । गोरखापत्र कर्मचारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो १७ औं वार्षिकोत्सव मनाएको छ । आज सहिद पार्क गोकर्ण काठमाडौंमा सहकारीको वार्षिकोत्सव मनाइएको हो ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले कार्यक्रमको उदघाटन गदै संस्थानका कर्मचारीलाई एक थलोमा जोडेर राख्ने काम सहकारीले गरेको बताए । वित्तीय अनुशासन कायम गर्नु निकै चुनौतीको काम भए पनि त्यसको चुस्तता र पारदर्शीताले सबैको विश्वास जित्न सकिने उनले बताए । संस्थानका व्यवस्थापन पक्षले सहजकर्ताको भूमिका मात्र खेल्ने तर संस्थानका मालिक भनेका यहाँका कर्मचारी भएकाले सहकारीलाई संस्थानको विरासत र गौरवअनुरुप प्रभावकारी बनाउन उनले सुझाव दिए ।
आजको दुनियाँ डिजिटलमा फड्को मारेकाले गोरखापत्रको सहकारीलाई पनि सोहीअनुरुप युग सुहाउँदो संस्था बनाउन आवश्यक रहेको उनले बताए । संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले संस्थानभित्र र सहकारीमा कर्मचारीबीचको एकता कायम गर्ने चुनौती रहेकाले त्यसमा ध्यान दिन आग्रह गरे । सहकारीलाई बलियो र आत्मनिर्भर बनाई कर्मचारीको हितमा लगाउन सक्नुपर्ने उनले सुझाव दिए । कुनै पनि संस्था टिकाउन आपसी विश्वास र सहकार्य आवश्यक परेकाले कर्मचारीबीच त्यसको खाँचो रहेको उनले बताए ।
सहकारीका अध्यक्ष पुष्पराज जोशीले गोरखापत्र कर्मचारी बहुउद्देश्यीय सहकारी संस्था लि। लाई प्रभावशाली बनाउन सबै कर्मचारीको साथ सहयोगको खाँचो रहेको बताए । सहकारीभित्र अहिले वित्तीय अनुशासन कायम गर्ने चुनौती रहेको चर्चा गर्दै अध्यक्ष जोशीले सबैको प्रयास र सहयोगले सहकारीले प्रगति हासिल गर्दैगएको बताए । सो अवसरमा उनले सहकारीभित्र ३६६ शेयर सदस्य रहेको र ३३ लाख ९३ हजार आठसय शेयर पूँजी संकलन भएको जानकारी दिए । त्यस्तै, आ।व। २०७९–८० असार मसान्तसम्म सदस्यहरुबाट १ करोड ६० लाख ६० हजार निक्षेप संकलन गरी १ करोड ८९ लाख ५९ हजार ऋण लगानी गरिएको जानकारी दिए ।
सहकारीले हाल शेयर सदस्यहरुलाई बढीमा २ लाख रुपियाँसम्म ऋण उपलब्ध गर्र्दै आएको पनि अध्यक्ष जोशीले जानकारी दिनुभयो । सो अवसरमा संस्थाका कोषाध्यक्ष माया आचार्यले वार्षिक आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । २०६३ मंसिर २१ गते स्थापना भएको सहकारीले अहिले १० प्रतिशतभन्दा कम व्याजदरमा दुई लाख रुपियाँसम्म ऋण, घरायसी सामानहरुको किस्ताबन्दी कार्यक्रम, सदस्यहरुको जम्मा बचत र शेयर रकमको ८० प्रतिशतसम्मको विशेष ऋण स्वीकृत कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
सो अवसरमा एसईईमा उत्कृष्ट अंक ल्याउने कर्मचारीका छोराछोरीलाई नगदसहित सम्मान गरिएको थियो । सम्मानित हुनेमा चिन्तन तिवारी प्रथम, आदित्य श्रेष्ठ द्वितीय र कृतिका सापकोटा तेस्रो भएको सम्मान प्रदान गरिएको छ । त्यस्तै, तीन जनालाई सान्त्वना सम्मान प्रदान गरिएको छ । सान्त्वना पाउनेहरुमा युनिक शर्मा, पृथ्वीराज श्रेष्ठ र अभिक गिरी रहेका छन् । उनीहरुलाई कार्यकारी अध्यक्ष सुवेदी तथा महाप्रबन्धक ऐरीले सम्मान प्रदान गरे ।
प्रथम हुने विद्यार्थीलाई तीन हजार पाँचसय, द्वितीय हुनेलाई तीन हजार, तृतीय हुनेलाई दुई हजार पाँचसय र सान्त्वना हुनेलाई एक हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको छ ।







