जापानमा शक्तिशाली भूकम्प जाँदा २४ जनाको मृत्यु

जनता संवाददाता
२०८० पुष १७ गते, मंगलवार

काठमाडौँ । जापानमा शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या २४ पुगेको छ। सोमबार जापानको पश्चिमी तटलाई केन्द्र बनाएर गएको ७.६ म्याग्नेच्युटको भूकम्पमा परी कम्तीमा २४ जनाको मृत्यु भएको स्थानीय समाचार एजेन्सी क्योडोले जनाएको छ।

इसीकावा प्रान्तको वाजीमा सहरका अधिकारीहरूले मंगलबारसम्म २४ जनको मृत्यु भएको पुष्टि गरेका हुन्। इसीकावा प्रान्त सरकारले घटनामा घाइते र मृतकका विवरण संकलन गर्ने काम गरिरहेको छ।

यस प्रान्तका विभिन्न सहरमा थुप्रै घरहरू भत्किएका छन्।वाजीमा सहरमा २५ भवन भत्किएका छन्। १४ वटा भवनमा अझै मानिसहरू फसेको हुनुपर्ने एनएचकेले समाचारमा उल्लेख छ। सुजु सहरमा पनि ५३ वटा घरहरू भत्किएका छन्।

भूकम्पपछि कतिपय घरमा आगलागी भएको थियो भने कतिपय ठाउँमा पहिरो खसेको छ। आगलागीबाट दुई सय बढी घरहरूमा क्षति पुगेको छ।

प्रकाशित मिति : २०८० पुष १७ गते, मंगलवार


Scroll to Top

Janata Media