काठमाडौँ । अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’ ले सन् २०२४ मा घुम्नका लागि उपयुक्त विश्वभरका ५२ ठाउँको सूची सार्वजनिक गरेको छ। त्यो सूचीमा नेपालको मुस्ताङ पनि समावेश छ।
यसअघि गत वैशाखमा सिएनएनले पनि घुम्नैपर्ने विश्वका २३ ठाउँको सूचीमा मुस्ताङलाई समेटेको थियो। सिएनएनले मुस्ताङलाई चिनाउँदै माउन्टेन ट्रेकिङका लागि प्रसिद्ध परौणिककालीन पदमार्ग समेत रहेको उल्लेख गरेको थियो।
न्यूयोर्क टाइम्सले पनि नेपालको उत्तरी क्षेत्रमा अवस्थित प्राचीन हिमाली अधिराज्यका रूपमा रहेको मुस्ताङले शताब्दीदेखि यसको ग्रामीणपन र संस्कृति बचाएर राखेको उल्लेख गरेको छ।
मुक्तिनाथ दर्शनका लागि पुग्नेमध्ये सबभन्दा धेरै भने भारतीय पर्यटकहरू हुन्छन्। मुस्ताङको अर्को आकर्षण भनेको ऐतिहासिक र पौराणिक मानिने लोमन्थाङ हो। लोमन्थाङ माटैमाटोले बनेका घर र माटोकै पर्खालले घेरिएको सहरका रूपमा परिचित छ। लोमन्थाङको बस्तीभित्र अवस्थित ज्यम्पा गुम्बा नेपालकै सांस्कृतिक सम्पदा हो।
मुस्ताङका हरेक कुनाबाट छर्लंग्गै हिमाल देखिन्छन्। जाडो याममा सबैजसो भूभागहरू हिउँले सेताम्मे हुन्छन्। यसकारण पनि पर्यटकको आकर्षण बढेको पन्तले बताए।
सन् २०२३ मा झन्डै एक लाख विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए। बर्सेनि हजारौं आन्तरिक पर्यटकहरू पनि पुग्छन्।
कोरोना महामारीअघि मुस्ताङमा अधिकतम वार्षिक ६० हजार विदेशी पर्यटक घुम्न पुगेको तथ्यांक छ। आन्तरिक पर्यटक भने सिजनमा दैनिक ६र७ हजार जना नै पुग्ने गरेका छन्।
मुस्ताङ जहाज र गाडीमार्फत जान सकिन्छ। जहाजमा जाने हो भने काठमाडौंबाट पोखरा र पोखराबाट जोमसोम जान सकिन्छ। जोमसोमबाट कागबेनी र मुक्तिनाथसम्म सहजै गाडी पाइन्छ। गाडीमार्फत जाँदा काठमाडौंबाट बेनीसम्म सजिलै पुग्न सकिन्छ।
बेनीबाट सिधै जोमसोमका लागि बस र जिप पाइन्छ। टिकट पाइएन भने बेनीबाट मुस्ताङको घाँसासम्म लिँदा हुन्छ। त्यहाँबाट जोमसोमका लागि बस पाइन्छ।







