काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकका लागि आवश्यक दक्ष जनशक्ति तथा सामाजिक उत्तरदायित्वको भावनाबाट अभिप्रेरित चिकित्सक नर्स, प्रयोगशाला विद्लगायतका स्वास्थ्यकर्मीहरू उत्पादनमा जोड दिएका छन् । शुक्रबार नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान निरीक्षण गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले यस्तो बताएका हुन् ।
उनले निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा अत्यधिक महङ्गो भएकाले त्यसमा आम जनताको सहज पहुँच हुन नसकेको भन्दै सरकारी र सामुदायिक स्तरमा स्वास्थ्य केन्द्र तथा अस्पतालहरूको विकास गरी त्यहाँबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुने व्यवस्था मिलाउनु राज्यको प्राथमिक दायित्व भएको बताए । स्वास्थ्य सेवामा नागरिकको सहज र सर्वसुलभ पहुँच स्थापित गर्न वर्तमान सरकारले विभिन्न कार्यक्रमहरू अघि बढाइरहेको उनको भनाइ थियो
कार्यवाहक प्रधानमन्त्री खड्काले सार्वजनिक स्वास्थ्य संस्थाहरू सबल र सुदृढ भए मात्र सर्वसाधारण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले सर्वसुलभ स्वास्थोपचार सेवा प्राप्त गर्न सक्ने तथ्य कोभिड १९ तथा डेङ्गी सङ्क्रमणको समयमा स्पष्ट भइसकेको बताए । यस कुरालाई हृदयङ्गम गरी सरकारले सबै सार्वजनिक अस्पतालहरूको क्षमता विकासलाई उच्च प्राथमिकतामा राखेको उनले उल्लेख गरे ।
कार्यवाहक प्रधानमन्त्री खड्काले भने, ‘‘यस संस्थानबाट उत्पादन हुँदै गरेका सक्षम चिकित्सा जनशक्तिलाई अझ बढी प्रभावकारी रूपमा अगाडि बढाउन चिकित्सा जनशक्तिको राष्ट्रिय आवश्यकतालाई मनन गरी आगामी दिनहरूमा पाठ्यक्रम अनुसारको शैक्षिक कार्यक्रम, समयानुकूल दक्ष जनशक्तिको विकास, सुदृढीकरण र आधुनिकीकरणलाई प्राथमिकतामा राखी थप शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै अघि बढ्न म सम्पूर्ण संस्थान परिवारलाई आग्रह गर्न चाहन्छुँ ।’’
संस्थानमा शिक्षण तथा व्यवस्थापनमा लागि अहोरात्र खटिनुहुने शिक्षकवर्ग, सकलदर्जालगायत कर्मचारीहरुको समर्पण र सामूहिक प्रयासले नै आज यो संस्थानले शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको उनको भनाइ थियो ।
उनले भने, ‘‘तपाईंहरुको निरन्तर परिश्रमकै कारण यहाँ अध्ययनरत विद्यार्थीहरुले गुणस्तरीय चिकित्सा शिक्षा प्राप्त गरिरहेका छन् । तसर्थ, यहाँहरु सबैले पुर्याउनु भएको योगदान ज्यादै नै प्रशसंनीय छ र यसको लागि म सबैलाई हार्दिक धन्यवाद दिँदै यो टीम स्प्रिटलाई आगामी दिनमा पनि निरन्तरता दिन हार्दिक आग्रह गर्न चाहन्छुँ ।’’द्रुतगतिमा बदलिँदो विश्वपरिवेश तथा त्यससँगै देखा परेका स्वास्थ्य चुनौतीहरु सामना गर्न सक्षम चिकित्सा जनशक्ति उत्पादन गर्नेतर्फ यस संस्थान निरन्तर अग्रसर रहिरहन सकोस् भन्ने उनले कामना गरे । यस संस्थानलाई चिकित्सा शिक्षा अध्ययनका लागि देशकै उत्कृष्ट मेडिकल कलेजको रूपमा स्थापित गर्न आगामी दिनमा यहाँका प्राध्यापक कर्मचारी तथा सकल दर्जाले थप प्रयास गर्नेमा उनले विश्वास व्यक्त गरे ।
उनले संस्थामा आफू पहिलो पटक आए पनि यसबारे परिचित रहेको भन्दै नेपाली सेनाको एक महत्त्वपूर्ण अङ्गको रुपमा रहेको यस संस्थानले नेपाली सेनालाई मात्र नभई समग्र राष्ट्रलाई नै आवश्यक गुणस्तरीय चिकित्सा जनशक्ति उत्पादन गर्न महत्त्वपूर्ण योगदान गरिरहेको बताए ।
मुलुकमा स्वास्थ्य प्रतिष्ठान तथा चिकित्सा अध्ययन संस्थानहरूको सङ्ख्यामा सङ्ख्यात्मक वृद्धिसँगसँगै तिनको अध्ययन, अध्यापन र स्वास्थ्य सेवा प्रवाहलाई चुस्त र गुणस्तरीय बनाउने कार्य चुनौतीपूर्ण रहेको भन्दै उनले यस क्रममा सम्बन्धित स्वास्थ्य प्रतिष्ठान तथा अध्ययन संस्थानहरूले आफ्नो गुणस्तरमा कुनै सम्झौता नगरी गुणस्तरीय अध्ययन, अध्यापन, अनुसन्धान र स्वास्थ्य सेवा प्रवाहमा निरन्तर ध्यान दिन आवश्यक रहेको धारणा राखे ।
कार्यवाहक प्रधानमन्त्री खड्काले भने, ‘‘स्वास्थ्य क्षेत्र एउटा गतिशील क्षेत्र हो । दिनहुँ यस क्षेत्रमा नयाँ नयाँ अनुसन्धानहरू भई नयाँनयाँ उपचारपद्धति, प्रविधि र औषधीहरूको आविष्कार भइरहेको छ । त्यसलाई हामीले हाम्रो स्वास्थ्य प्रणालीभित्र समायोजन र अनुकूलन गर्दै जानुपर्ने खाँचो छ । यसका लागि यस संस्थानले पनि एकातिर थप पूर्वाधारहरूको विकास गर्दै जान र अर्कोतर्फ नयाँ प्रविधि र पद्धतिलाई क्रमशः आत्मसात् गर्दै अघि बढ्न आवश्यक देखिन्छुँ ।’’
सो अवसरमा नेपाली सेनाका प्रधानसेनापति, रक्षामन्त्रालयका निमित्त सचिव तथा नेपाली सेनाका अन्य अधिकारीहरु समेत उपस्थिति थियो ।







