फिल्डिङ र ब्याटिङमा कमजोरी भए, आगामी दिनमा सुधार गर्छौँ : कप्तान पौडेल

जनता संवाददाता
२०८१ असार ७ गते, शुक्रबार

काठमाडौँ, । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इण्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याट्सम्यानलाई दोष दिन नमिल्ने बताए।

बिहीबार टी–२० विश्वकपमा सहभागी भएर स्वदेश फर्किएसँगै आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताए। टिममा आत्मविश्वास भए पनि मैदानको स्थितिले जित हात पार्न नसकिएको उनको भनाइ थियो। उनले अमेरिका र वेस्ट इण्डिजको पिचमा कुनै पनि देशले राम्रो रनको स्कोर बनाउन नसकेको बताउँदै नेपालले बलिङमा भने उत्कृष्ट प्रदर्शन गरेको बताए। उनले राम्रो खेल्ने खेलाडीलाई टिममा स्थान सधैँ खुला रहेको बताए। उनले फिल्डिङ र ब्याटिङमा नेपाली पक्षबाट केही कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता जनाए।

उनले भने, ‘पहिलो गेममा पनि आत्मविश्वास थियो पूरै टिममा। तर मैदानको स्थितिले राम्रो नतिजा आउन सकेन। अमेरिकाको पिच तपाईँले देख्नु नै भएको छ, कसैको राम्रो स्कोर बन्न सकेको थिएन। सम्पूर्ण खेलको कुरा गर्दा बलरले राम्रो गर्नुभयो। सबैको लागि ठाउँ खाली छ, राम्रो खेल्नेले अवसर पाउनुहुन्छ। हामीले वेस्ट १५ खेलाडी लिएर गएका थियौँ। ब्याट्सम्यानलाई च्यालेन्ज थियो। ब्याट्सम्यानलाई मात्रै दोष दिएर हुँदैन। बलरलाई राम्रो ठाउँ थियो, त्यही अनुसारको नतिजा पनि यो विश्वकपमा आइरहेको छ। फिल्डिङ पनि केही कमजोरी थियो, त्यसमा हामी सुधार गरेर जानेछौँ। ब्याटिङमा पनि सुधार गर्न जरुरी छ।’

प्रकाशित मिति : २०८१ असार ७ गते, शुक्रबार


Scroll to Top

Janata Media