नेप्से परिसूचकमा गिरावट कायमै, कारोबार रकम साढे पाँच अर्बमा खुम्चियो

जनता संवाददाता
२०८१ मंसिर २४ गते, सोमबार

काठमाडौँ । यस साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोस्रो दिन पनि दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १२ दशमलव ८४ अङ्कले घटेर दुई हजार छ सय ७६ दशमलव १५ को विन्दुमा कायम भएको हो।

आज तीन सय १७ कम्पनीको एक करोड १५ लाख २३ हजार तीन कित्ता शेयर ६२ हजार सात सय ५८ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ६२ करोड ९९ लाख ४५ हजार आठ सय २२ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा वित्त समूह शून्य दशमलव १५, लगानी शून्य दशमलव ७६, उत्पादन तथा प्रशोधन एक दशमलव ०६, म्युचुअल फन्ड शून्य दशमलव १४ र अन्य समूह शून्य दशमलव ११ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ४६, विकास बैंक शून्य दशमलव ६८, होटल तथा पर्यटन शून्य दशमलव ८३, जलविद्युत् शून्य दशमलव ५४ र जीवन बिमा समूह एक दशमलव ६७ प्रतिशतले घटेको छ।

यसैगरी, लघुवित्त समूह शून्य दशमलव ६१, निर्जीवन बिमा समूह एक दशमलव १६ र व्यापार समूह एक दशमलव ३० प्रतिशतले घटेको छ । इमर्जिङ नेपाल लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै आठ दशमलव ७६ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै घट्नेमा भने स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार भएको रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रू ३५ करोड २७ लाख २० हजार चार सय ४९ बराबरको कारोबार भएको छ । शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै आरबिबी म्युचुअल फन्ड–को पाँच लाख १७ हजार चार सय कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २०८१ मंसिर २४ गते, सोमबार


Scroll to Top

Janata Media