अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट श्रृंखला  : नेपाल ४ विकेटले विजयी

जनता संवाददाता
२०८० फाल्गुन १ गते, मंगलवार

काठमाडौं । अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट श्रृंखलाअन्तर्गत नेपाल र क्यानडाबीचको दोश्रो खेलमा नेपाल विजयी भएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा क्यानडालाई नेपालले ४ विकेटले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार क्यानडाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ६ विकेटको क्षतिमा भेटेको छ । २९ बल बाँकी छँदै नेपालले लक्ष्य भेटेको हो ।

नेपालको जितका लागि कप्तान रोहित पौडेलले ८७, देव खनालले ७६, अनिलकुमार साहले ५०, भीम सार्कीले २३ र पवन सर्राफले १४ रनको योगदान गरे ।

यसअघि टस जितेर क्यानडाले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रन बनाएको थियो ।

क्यानडाको ब्याटिङमा आरोन जोन्स र नवनीत ढालिवालले पहिलो विकेटमा १९ ओभरभित्र ९४ रनको साझेदारी गरेर राम्रो सुरुआत गरेका थिए । डेब्यु गरिरहेका आकाश चन्दले ढालिवाललाई आउट गरी उक्त साझेदारी तोडेका थिए । ढालिवालले ६० बल खेल्दा ८ चौकासँगै ४६ रन बनाए ।

जोन्सले रनआउट हुनुपूर्व ६२ बल खेल्दा १० चौका र २ छक्का प्रहार गरी ६५ रन बनाए ।प्रगत सिंहले ३८, निकोलस कीर्तनले २०, हर्ष ठाकेर ३, दिलप्रित बाज्वा १९, कप्तान साद बिन जाफर १ र साहिद अहमदले १३ रन बनाएका थिए । श्रेयस मोभ्भाले ४० र भगवानले २२ जोडेका थिए ।

बलिङतर्फ नेपाली टिमका रोहित र कुशलले २–२ विकेट लिए भने सूर्य तामाङ, आकाश, सोमपाल कामी र पवन सर्राफले १–१ विकेट लिए । नेपालले कुशल भुर्तेल, आरिफ शेख र ललित राजवंशीलाई शनिबार प्लेयिङ ११ बाहिर राखेको थियो ।

दोस्रो एकदिवसीय क्रिकेट शृंखलाका दुई खेल नेपालले जितेको छ । तेस्रो खेल सोमबार हुनेछ ।

प्रकाशित मिति : २०८० फाल्गुन १ गते, मंगलवार


Scroll to Top

Janata Media