सितापाइला हत्या प्रकरण, तीन जनाको हत्या गरेका सुनार झुण्डिएको अवस्थामा फेला

जनता संवाददाता
२०८० फाल्गुन ९ गते, बुधबार

काठमाडौं । काठमाडौंको सितापाइलामा तीन जनाको हत्या भएको छ ।

सोलुखुम्बु घर भइ हाल नागार्जुन नगरपालिका वडा नं २ भैरवटोल बस्दै आएका राजु विश्वकर्मा भनिने राजु सुनारले आफ्नो ३९ वर्षीया श्रीमतीसहित ८ वर्षीया छोरी र साढे २ वर्षकी नातिनीको हत्या गरेका हुन् ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूकी डिएसपी पूर्णिमा चन्दले घटनाबारे लोकपथलाई जानकारी दिइन् । उनका अनुसार हत्यामा संलग्न सोलखुम्बुका राजु सुनार रहेका छन् ।

उनले हत्यापछि आफ्नै सासुलाई फोन गरी आफूले नै हत्या गरेको बताएका थिए । तीन जनाको हत्यापछि उनी पनि घरभन्दा केही पर झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सुनार आफ्नो परिवारसहित लामो समयदेखि त्यहाँ बस्दै आइरहेको थिए । उनी ज्याला मजदुरी गर्दै आइरहेका थिए ।

अहिले जिल्ला प्रहरी परिसर काठमाडौं र स्वयम्भू वृत्तबाट प्रहरी टोली खटिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ९ गते, बुधबार


Scroll to Top

Janata Media