सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा प्रस्तुत हुने अन्तिम चरणमा : प्रधानमन्त्री प्रचण्ड

जनता संवाददाता
२०८० फाल्गुन ११ गते, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा प्रस्तुत हुने अन्तिम चरणमा पुगेको बताएका छन् ।

शुक्रबार २३ औं मजदुर बलिदान दिवस तथा पुस्तक विमोचन कार्यक्रमलाई पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले अबको पाँच दिनभित्रमा उपसमितिबाट पारित भएर संसदमा प्रस्तुत गर्ने तयारीमा रहेको जानकारी दिए । उनले सदनबाट पारित गरेसँगै बलिदान गरेका योद्धाप्रति गर्व हुने बताए ।

उनले सङ्क्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगसँग सम्बन्धित काम नटुङ्गिएकाले नै शहीद परिवारले पाउनुुपर्ने परिपूरण वा सहयोग राज्यको तर्फबाट पाउन नसकेको बताए ।‘‘आज हामी बलिदान दिवस मनाउँदै गर्दा हाम्रा ति महान शहीद र बेपत्ता योद्धाहरुलाई राज्यको तर्फबाट सम्मान गर्ने प्रक्रियाको एउटा ठुलो ढोका खुलेको छ । तर फेरि अझै शान्ति प्रक्रियाका केही काम बाँकी रहेकाले ।

खासगरी सङ्क्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगसँग सम्बन्धित काम नटुङ्गिएको हुनाले सबै शहीद परिवारले पाउनुुपर्ने परिपूरण वा सहयोग राज्यको तर्फबाट उनीहरुको नाममा, उनीहरुको बालबच्चालाई रोजगारी विधेयकमा राखेका छौँ ।,’’ प्रधानमन्त्री प्रचण्डले भने, ‘‘धेरैलाई थाहा होला ।

त्यो विधेयक अब सदनमा पारित हुने अन्तिम चरणमा छ । सदनमा प्रस्तुत भएर एउटा उपसमितिबाट पारित भएर आज बैठक बसेको छ । त्यहाँबाट मिति तोकिन्छ । पाँच दिन भित्रमा समितिबाट टुङ्ग्याउने र सदनबाट पारित गर्ने त्यो पारित भएपछि सबैको निम्ति बलिदान गरेका योद्धाप्रति गर्व हुनेछ ।’’

प्रधानमन्त्री प्रचण्डले जनयुद्ध दिवस शान्ति प्रक्रिया पूरै टुङ्ग्याएपछि पुनः मनाइने र बिदा दिइने दाबी गरे । उनले शान्ति प्रक्रियाका बाँकी काम नटुङ्गिएकै कारण अदालतले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस र बिदा दिन अस्वीकार गरेको बताए ।

उहाँले भन्नुभयो, ‘‘अहिले राज्यले राष्ट्रिय शहीको सम्मान दिइसकेपछि र अब जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस र बिदा राज्यको तर्फबाट घोषणा मैले गरेको थिएँ । सरकारकै क्यालेण्डरमा जनयुद्ध दिवस र बिदा भनेर लेखिएको छ । तर अदालतले शान्ति प्रक्रिया पूरै नटुङ्गिएको भएर यो दिवस गर्दा भनेको छ ।

अदालतको भनाइलाई कमेण्ट गरेको छैनौँ । म प्रधानमन्त्री भएकाले कमेण्ट गर्न अप्ठ्यारो हुन्छ । हामीले त जनयुद्ध दिवस त मनायौँ । सङ्क्रमणकालीन न्याय टुङ्गिएपछि राष्ट्रिय दिवस भएर बिदा हुन्छ ।’’

प्रधानमन्त्री प्रचण्डले अदालतले बिदा नदिएपनि आफूहरुले जनयुद्ध दिवस मनाएको बताए ।

प्रकाशित मिति : २०८० फाल्गुन ११ गते, शुक्रबार


Scroll to Top

Janata Media