काठमाडौं । सिमकोट हिल्सा सडकको नारा खण्डमा सडक बन्द भएको छ । सो खण्डको सडकमा बाक्लो हिउँ जमेपछि यातायात सेवा बन्द भएको हो ।
सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायव उपरिक्षक गुन्जन प्रताप मल्लले अघिल्लो मङ्गलबार यता चार दिन लगातार परेको हिमपातको कारण सिमकोट हिल्सा सडक खण्डको नारा लेक खण्डको सडक बन्द भएको बताए । नारा क्षेत्रको तीन किलो मिटर सडकमा तीन फिटसम्म हिउ जमेको छ । नारा लेक क्षेत्र चार हजार छ मिटर उचाईमा पर्छ ।
उनले सो सडकमा हिउँ जमेको कारण यारी हिल्सा सडक बन्द भएको बताउँदै यसबाट सुरक्षाकर्मीहरुलाई गस्ती गर्न समस्या भएको बताए । हिमपात कै कारण हिल्सामा रहेको सशस्त्र प्रहरीको सिमा सुरक्षा चौकीसँग सञ्चार सम्पर्क हुन सकेको छैन । यद्यपि उनले इन्टरनेटले काम गरेको कारण चौकीका सशस्त्र प्रहरी निरीक्षक प्रमोद बिष्टसँग शनिबार सम्पर्क भएको भएपनि आज भने नभएको बताए ।
हिल्सामा २५ जना सशस्त्र प्रहरी, सात जना हिल्साका स्थानीय र नेपाल प्रहरीका जवानहरु बस्दै आएका छन् । गत पुस महिनामा हिमपात नभएको कारण माघ महिनासम्म हिल्साबाट यातायातका साधन चल्दै आएका थिए ।







