स्पेनमा भीषण वर्षा, बाढीबाट मृतकको संख्या २०० नाघ्यो

जनता संवाददाता
२०८१ कार्तिक १७ गते, शनिबार

काठमाडौँ । स्पेनमा भीषण बाढीका कारण कम्तीमा २०५ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार, बाढीले पूर्वी स्पेनको भ्यालेन्सिया सहरलाई सबैभन्दा बढी प्रभावित गरेको छ । नेपाली समयअनुसार, शुक्रबार साँझसम्म भ्यालेन्सियामा मात्र २०२ जनाको मृत्यु भएको छ । बेपत्ताहरूको खोजी कार्य जारी छ ।

रिपोर्टका अनुसार, भ्यालेन्सियामा अक्टोबर २९ मा आठ घण्टामा १२ इन्च वर्षा भएको थियो । जुन स्पेनमा एक वर्षमा मात्र यति धेरै वर्षा हुन्छ ।

अविरल वर्षाका कारण अचानक आएको बाढीका कारण धेरैले सुरक्षित स्थानमा जाने मौका पाएका छैनन् । भ्यालेन्सिया भूमध्य सागरको तटमा पर्छ । यहाँ करिब ५० लाख मानिस बस्छन् ।

स्पेनको पछिल्लो इतिहासमा बाढीका कारण यति धेरै मानिसको मृत्यु भएको यो पहिलोपटक हो । बीबीसीका अनुसार, स्पेनमा यसअघिको सबैभन्दा ठूलो बाढी सन् १९७३ मा आएको थियो । त्यस क्रममा १५० जनाको मृत्यु भयो । त्यसअघि सन् १९५७ मा भ्यालेन्सिया सहरमा भीषण बाढी आएको थियो, जसमा ८१ जनाको मृत्यु भएको थियो ।

बाढी प्रभावित क्षेत्रमा राहत कार्यमा एक हजारभन्दा बढी सेना परिचालन गरिएको छ । बाढीका कारण सडकहरू भत्किएका छन् भने सञ्चार र विद्युत् लाइनमा क्षति पुगेको छ ।

भीषण वर्षाको कारण के हो ?
मौसमविद्का अनुसार, चिसो र तातो हावाको संयोजनले बनेको बाक्लो बादलका कारण भारी वर्षा भएको हो । भूमध्यसागरको अत्यधिक गर्मीका कारण पनि भारी वर्षा भएको हो । यस वर्षको अगस्टमा भूमध्यसागरको तापक्रम २८।४७ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो, जुन अहिलेसम्मकै उच्च थियो ।

बीबीसीका अनुसार, स्पेनमा पछिल्लो ५० वर्षमा आएको बाढीको रेकर्ड तोडिएको छ । यसअघि सन् १९७३ मा बाढीका कारण १५० जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०८१ कार्तिक १७ गते, शनिबार


Scroll to Top

Janata Media