नयाँ मन्त्रीको शपथ पौने ६ बजे

जनता संवाददाता
२०८० फाल्गुन २३ गते, बुधबार

काठमाडौं । नवनियुक्त मन्त्रीको शपथ बुधबार साँझ पौने ६ बजे राष्ट्रपति कार्यालयमा हुने भएको छ ।

राष्ट्रपति कार्यालयले बुधबार साँझ पौने ६ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका नवनियुक्त मन्त्रीको पद तथा गोपनीयताको शपथ समारोहमा उपस्थितिका लागि अनुरोध गरेको छ ।

प्रचण्ड नेतृत्वको सरकारमा नेकपा (माओवादी केन्द्र) बाट उपप्रधानमन्त्री तथा परराष्ट्रमा नारायणकाजी श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, ऊर्जामा शक्तिबहादुर बस्नेत, अर्थमा वर्षमान पुन मन्त्री बन्दै हुनुहुन्छ । हितबहादुर तामाङले भने मन्त्री पदको शपथ लिइसक्नु भएको छ। उनलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

नेकपा (एमाले) बाट रघुवीर महासेठको नेतृत्वमा पदम गिरी, ज्वालाकुमारी साह, दामोदर भण्डारी, भगवती चौधरी, हरि उप्रेती र राजेन्द्र राईले मन्त्री पदको शपथ लिने छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, श्रम रोजगार तथा सामाजिक सुरक्षामा डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधिमा सुमना श्रेष्ठ, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठले शपथ लिने छन् ।

जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) पार्टीसमेत सरकारमा सहभागी हुनेछन् । जसपा र समाजवादीले मन्त्रीको नाम टुंगो लगाएका छैनन् ।

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते, बुधबार


Scroll to Top

Janata Media