असोज ७ गतेबाट चाडवाडलक्षित सुपथ मूल्य पसल सञ्चालन हुने

जनता संवाददाता
२०८१ भाद्र २७ गते, बिहीबार

काठमाडौँ । सरकारले चाडवाड लक्षित सुपथ मूल्य पसल आगामी असोज ७ गतेबाट सञ्चालन गर्ने भएको छ । उद्यो, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बिहीबार साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ६२ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै सो कुराको जानकारी दिएका हुन् ।

मन्त्री भण्डारीले आगामी असोज ७ गतेबाट सुपथ मूल्यका पसल देशभर ४२ वटा जिल्लामा सञ्चालन हुने जानकारी दिए । साथै चाडवाडमा दुर्गम क्षेत्रमा अत्यावश्यक वस्तुको अभाव हुन नदिनेगरी सुपथ मूल्यमा खाद्यान्नहरु उपलब्ध गराइने पनि जानकारी दिए ।

उनले चामल, दालमा पाँच रुपियाँ छुट दिने र चिनीमा अहिलेको बजार १०७ रहेको र घटाउने योजना बनाइरहेको बताए । उनले कृत्रिम अभाव सिर्जना गर्न नदिने पनि दाबी गरे ।

मन्त्री भण्डारीले चिनी, दाल, चिउरा, नुन, मैदालगायतका अत्यावश्यक वस्तुमा मूल्य समायोजन गरी आम उपभोक्तालाई सहज रुपमा गुणस्तरीय वस्तु उपलब्ध गराउने सरकारको उद्देश्य रहेको बताए । अत्यावश्यक वस्तुको सहज उपलब्धताको सुनिश्चितता सरकारले गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २०८१ भाद्र २७ गते, बिहीबार


Scroll to Top

Janata Media