काठमाडौं। यो वर्षको पहिलो टोरी नेतृत्व प्रतिस्पर्धामा लिज ट्रससँग पराजित भएको सात सातापछि ऋषि सुनक यसपालि विजयी भएका हुन्।
उनी पहिलो ब्रिटिश एशियाली प्रधानमन्त्री बन्ने निश्चित भएको छ र यूकेले ठूला आर्थिक चुनौतीहरूको सामना गरिरहेको समयमा कार्यभार सम्हाल्ने भएका छन्।
पेनी मोर्डन्टले कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि प्रतिस्पर्धाबाट हात झिकेपछि सुनक प्रधानमन्त्री बन्ने भएका हुन्।
ब्रिटेन अहिले दशकौँमा सिर्जना भएको सबैभन्दा उच्च महँगी र बढ्न नसकिरहेको आर्थिक वृद्धिसँग जुझिरहेको छ।
उसको अर्थतन्त्र युक्रेन युद्ध, ब्रेक्जिट र कोभिड महामारीका कारण कमजोर बनेको छ, तर ती समस्यालाई सरकारको अस्थिरताले थप कमजोर बनाएको छ।
विपक्षी दलहरूले नयाँ नेतासँग कार्यादेश नहुने भन्दै आमनिर्वाचनको माग गरेका छन्।
२१औँ शताब्दीसँगै युवावस्थामा प्रवेश गरेका, कहिल्यै मदिरापान नगर्ने उनी धेरैका लागि अर्थतन्त्रको गाडी हाँक्न विश्वसनीय व्यक्ति बन्न पुगे।
सन् २०२० को बसन्तयाममा उनले महामारीमा मानिसहरूलाई सघाउन “जेसुकै गर्ने” वाचा गर्दै ३५० अर्ब स्टर्लिङ पाउन्ड बराबरको सहायता कार्यक्रम सार्वजनिक गरे। त्यसले उनको व्यक्तिगत लोकप्रियतालाई झन् उचाइमा पुर्यायो।
तर यूकेमा आर्थिक रूपमा अस्तव्यस्त माहोल जारी रहिरहँदा सुनक स्वयम्ले प्रहरीलाई जरिबाना तिर्नुपर्ने अवस्था पनि आयो।
जून २०२० मा डाउनिङ्ग स्ट्रीटमा लकडाउनका नियम तोडेको भन्दै बोरिस जोनसनसँगै उनी कारबाहीमा परेका थिए।