हुम्लामा दस करोडको स्याउ

जनता संवाददाता
२०८० फाल्गुन २४ गते, बिहीबार

काठमाडौं । फलफूलमा स्याउ खेतीको राम्रो सम्भावना रहेको हिमाली जिल्ला हुम्लामा यस वर्ष दस करोड रुपियाँ बराबरको स्याउ उत्पादन भएको पाइएको छ । यस वर्ष स्याउ उत्पादन राम्रो नभए पनि जिल्लाभरको विवरण अनुसार उक्त स्याउ उत्पादन भएको पाइएको हो ।

सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले गाउँपालिकाभर पाँच करोडभन्दा बढीको स्याउ उत्पादन भएको बताए । उनले स्याउ राम्रो उत्पादन नभएका कारण जम्मा किसानले पाँच करोडको स्याउ उत्पादन गर्न सफल भएको र किसानले उत्पादन गरेका सबै स्याउ भने बिक्री नभएको बताए ।

उनले स्याउ बिक्रीबाट एक किसानले १० लाख रुपियाँसम्म कमाइ गरेको जानकारी कार्यालयलाई आएको बताउँदै सडक यातायात नजोडिएको र हवाई मार्गबाट ढुवानी दर बढी भएका कारण जिल्लाबाहिरको बजारका लागि समस्या रहेको बताए ।

हुम्ला जिल्लामा स्याउको मूल्य प्रतिकेजी ४० रुपियाँ तोकिएको भए पनि त्यो मूल्यमा भने बजारमा पाउने गरेको छैन । हाल बजारमा प्रतिदाना स्याउका मूल्य २० रुपियाँ पर्ने गरेको छ । कृषि विकास कार्यालयले जिल्लाका सात वटै गाउँपालिकामा १० करोडभन्दा बढीको स्याउ उत्पादन भएको जनाएको छ । यसमा ३० प्रतिशत मात्र स्याउ जिल्लाबाहिर बिक्री भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २४ गते, बिहीबार


Scroll to Top

Janata Media