डिभिजन वन अधिकृतसहित २४ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिनाको मुद्दा

जनता संवाददाता
२०८० चैत्र ४ गते, आईतवार

काठमाडौं । महोत्तरीको जलेश्वरस्थित डिभिजन वन कार्यालयका तत्कालीन डिभिजन वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध ११ लाख ९६ हजार ६९५ रुपियाँ सार्वजनिक सम्पत्ति हिनामिना गरेको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार व्यक्तिलाई लाभ हुने गरी विभिन्न जातका चार सय छ वटा रुख कटान गरी÷गराइ ११ लाख ९६ हजार ६९५ रुपियाँ बराबरको सरकारी सम्पत्ति हानिनोक्सानी भएको पुष्टि भएको छ ।

साहसहित तत्कालीन सहायक वन अधिकृत बेचन ठाकुर, सब–डिभिजन वन कार्यालय बर्दिवास, महोत्तरीका तत्कालीन सहायक वन अधिकृत लक्ष्मणप्रसाद यादव, फरेष्टर सन्तोषकुमार साह, वनरक्षक राजकिशोर झा, अजयकुमार यादव, राकेशकुमार यादव, नारायण ढुङ्गेल र दिलीप महतोविरुद्ध गलत विवरण व्यहोराको सर्जमिन मुचुल्का तयार गरेको आरोप लागेको छ ।

यस्तै, नापी कार्यालय, बर्दिबासका तत्कालीन अमिन रामदरश राउत, मालपोत कार्यालयका तत्कालीन नायब सुब्बा ओमप्रकाश खड्का र बर्दिबास नगरपालिका वडा नम्बर १ का तत्कालीन वडा सदस्य शान्तादेवी श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

बर्दिबास नगरपालिका १ का तत्कालीन वडाअध्यक्ष चूडामणि पोखरेल, रम्तेल डाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शेरबहादुर राउत, तत्कालीन उपाध्यक्ष उमादेवी बुढाथोकी, कोषाध्यक्ष प्रेमबहादुर थापा, सचिव धनकुमारी मगर, तत्कालीन सदस्य उर्मिला थापामगर र पूर्णबहादुर सुस्लिङविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम पूरै सजाय हुन मागदाबी लिइएको आयोगले जनाएको छ ।

यसैगरी, जग्गाधनीद्वय लीलामणि आचार्य र कृष्णप्रसाद गौतम, वनका उपभोक्ता एमबहादुर थापा मगर र नन्दमाया खनाल भनिने नन्दमाया क्षेत्री, सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर ४ का रुख कटान गर्ने ठेकेदार सन्दीप नेपालीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागदाबी लिइ आइतबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २०८० चैत्र ४ गते, आईतवार


Scroll to Top

Janata Media