विराटनगर भन्सार अधिकृतविरुद्ध ८४ लाखको भ्रष्टाचार मुद्दा

जनता संवाददाता
२०८० चैत्र १३ गते, मंगलवार

काठमाडौं । विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटाविरुद्ध ८४ लाख ५५ हजार ६०५ रुपियाँको भ्रष्टाचार आरोप लागेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार सापकोटासहित तत्कालीन भन्सार अधिकृत नक्कुल शर्माले २०७९ माघ १० गते नयाँ प्रज्ञापनपत्र एम ४०५६ दर्ता गरी गराइ २०७९ माघ ११ मा सुरु घोषणा गरेको अमेरिकी डलरमा मूल्य थप गरी गराइ भन्सार प्रक्रिया पूरा गरेर नियमानुसार जम्मा लाग्ने राजस्व रकम बढी लिएको र पैठारीकर्ता देव इन्टरनेशनल प्रा.लि.को समान जाँचपास गरेको देखिएको छ ।

प्रज्ञापन पत्र नम्बर एम ७२६ को आधारमा नै मालवस्तु जाँचपास भएको भए पैठारीकर्तालाई ८४ लाख ५५ हजार ६०५ रुपियाँ गैरकानुनी लाभ लिएको पुष्टि भएकोले उनीहरुविरुद्ध चुहावट राजस्व रकमको दोब्बर जरिवाना मागदाबी लिइएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, देश इन्टरनेशनल प्रा.लि.का सञ्चालक शेरबहादुर बस्नेत र भन्सार एजेण्टको प्रतिनिधि सरनकुमार खरेल समेतको संलग्नतामा मालवस्तु जाँचपास भएको भए पैठारीकर्तालाई ८४ लाख ५५ हजार ६०५ रुपियाँ गैरकानुनी लाभ र नेपाल सरकारको चुहावट भएको आरोप लागेको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम प्रतिवादीहरुलाई हुने सजायको मागदाबी लिएर मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।

प्रकाशित मिति : २०८० चैत्र १३ गते, मंगलवार


Scroll to Top

Janata Media