
काठमाडौँ । सरकारले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने भएको छ ।
सत्ता गठबन्धनले शुक्रबार सार्वजनिक गरेको सरकारको २० बुँदे न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने उल्लेख छ ।
न्यूनतम साझा कार्यक्रमको १५ औँ नम्बरको ‘पर्यटन, संस्कृति, सामाजिक सद्भाव र राष्ट्रिय एकता’ शीर्षकको अन्तिममा भनिएको छ, ‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने ।’
राप्रपाले सरकारमा सहभागी हुन पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिनु पर्ने माग गर्दै आएको थियो । योसँगै राप्रपा अब सरकारमा सहभागी हुने पक्का भएको छ ।
सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्न उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलले २०बुँदे न्यूनतम साझा कार्यक्रम तयार पारेको हो । कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन शनिबार गठबन्धनका शीर्ष नेताहरूलाई बुझाइने बताएका छन् ।
१४ पुसमा बसेको सत्ता गठबन्धनको बैठकले न्यूनतम साझा कार्यक्रम तयार पार्न उपप्रधान तथा अर्थमन्त्री पौडेलको नेतृत्वमा माओवादी केन्द्रका वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका मुकुल ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणा र जनता समाजवादी पार्टी, नेपालका रकम चेम्जोङ सदस्य रहेको कार्यदल बनाएको थियो ।