गाउँमै प्रसुती गृह र विद्यालय भवन बनेपछि स्थानीय हर्षित

जनता संवाददाता
२०८० चैत्र २२ गते, बिहीबार

सर्जन कुमार शाही, मुगु । गाउँमा पक्की विद्यालय र प्रसुती गृह भवन एकैपटक बनेपछि स्थानीय हर्षित भएका छ्न् । जिल्लाको उत्तरी सोरु गाउँपालिका- ९ तलिकालै गाउँमा रहेको मष्टा आधारभूत विद्यालयमा नयाँ पक्की भवन र कालै प्रसुती गृह एक साथ निर्माण सम्पन्न भएपछि स्थानीयहरु हर्षित भएका हुन् ।

ब्याक टु लाइभ इबि जर्मनीको आर्थिक तथा प्राविधिक सहयोग र कर्णाली सामुदायिक बिकास केन्द्रको समन्वय साझेदारीमा ६२ लाखमा ८४ हजार २७४ रुपयाको कुल लागतमा दुई तलाको ४ कोठे विद्यालय भवन र ५३ लाख १० हजार ९९ रुपयाको कुल लागतमा दुई तले ४ कोठाको पक्की प्रसुती गृह भवन निर्माण गरिएको छ । बुधबार एक कार्यक्रम बिच उक्त विद्यालय भवन हस्तान्तरण तथा प्रसुती गृहको उद्घाटन एकसाथ गरिएको थियोे ।

आफ्नै घर अगाडि पक्की विद्यालय भवन बनेपछि स्थानीयले खुशी हुँदै बाजागाजा, फुल माला, अबिर जात्रा सहित उपस्तिथि अतिथिलाई स्वागत गरेका थिए । विद्यालय हस्तान्तरण र प्रसुती गृह उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, सम्वन्धित संस्थाका अध्यक्ष, अन्य सदस्य, कर्मचारी, जिल्ला स्थित विभिन्न मिडियामा आवद्ध संचारकर्मी, अन्य विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो ।

गाउँमा पक्की विद्यालय भवन बनेपछि खुशी हुँदै मस्टा आधारभूत विद्यालय्का विव्यस अध्यक्ष भानुभक्त चौलागाईंले भने, अब विद्यार्थीहरुले रुखमुनी बसेर बढ्ने दिनको अन्त्य भएको छ सहयोगी संस्थालाइ धन्यवाद दिदै कुनैबेला रुखको मुनिमा बसेर पढ्नुपर्ने समस्या थियो अब हाम्रा बालबालिकाले पक्की सुविधा सम्पन्न भवनका कोठामा बसेर पढन पाउने भए ।

यस विद्यालयमा ८७ घरधुरीका ८९ जना बालबालिका अध्यनरत छ्न् । गाउमै पक्की विद्यालय भवन र प्रसुती गृह निर्माण भएपछि साह्रै खुशी लागेको छ तलिकालै गाउँका भक्ती प्रसाद चौलागाईंले बताए । उनले खुशी हुँदै भने अब साना विद्यार्थीलाई रुखको मुनि र कच्ची भवनमा बसेर पढ्नु नपर्ने र गाउँका गर्भवती महिलालाई गोठमा सुत्केरी हुनु पर्ने बाध्यता समेत अन्त्य भएको छ ।

घर अगाडि बनेको प्रसुती गृहमा हाम्रो छोरी बुहारीहरुले अबका दिनमा सुत्केरी हुन पाउने भएपछी साह्रै खुशी लागेको बताउछिन कालै गाउँकि ६० बर्षिया उता लुवारले बताईन् । हाम्रा दिनमा यस्ता अस्पताल थिएनन, स्वास्थ्य संस्था थिएनन आफुले ५ वटा बच्चा गोठमै जन्माएको उनी दुखेसो सुनाउँछिन । अब गाउँका छोरी बुहारीलाई प्रसुती गृहमै सुत्केरी गराउन पठाउने उनले बताईन् ।

आफ्ना तीन बच्चा गोठमै जन्माएको सम्झदै कालैगाउँ कै अर्कि ३४ बर्षिया धनदेबी शाही भनिन्, आफुले पनि आफ्ना बच्चा घरैमा जन्माएकि हुँ । अब त घर अगाडी संस्थाले सुबिधा सम्पन्न प्रसुती गृह बनाइदियो सुत्केरी हुन धेरै सजिलो हुने भयो ।

पहिला पुरानो, जिण साँघुरो भवनबाट सुत्केरी सेवा दिन निकै असजिलो असुरक्षित थियो अब नयाँ भवन बने पछि सुत्केरीलाई दिइने ब्लअ, उलअ लगायतका सेवा दिन सजिलो हुने भएको कालै प्रसुती गृहकि इन्चार्ज कमला रावतले बताए ।

अबका दिनमा गर्भवती महिलालाइ सबैखाले सेवा दिने कोठा छुट्टाछुट्टै भएको र सुत्केरी गराउन सजिलो हुने भएको पनि इन्चार्ज रावतले भने, नव निर्मित प्रसुती गृहबाट माथी कालै र तल्लो कालै गाउका करिब ३ सय ५० घरधुरीका गर्भवती महिलाहरूले सेवा लिने छ्न् । महिनामा ४ देखी ७ जना सम्म सुत्केरी सेवा लिन र ANC PNC सेवा लिन १०/ ११ जना आउँछन् ।

हाम्रो संस्थाले समुदायको मागमा आधारित रहेर बिद्यालय भवन, प्रसुती गृह लगायत अन्य विभिन्न मागमा आधारित कार्यक्रम तथा बिकास निर्माणका कामहरू गर्दै आएको कर्णाली सामुदायिक बिकास केन्द्रका अध्यक्ष संगिता मल्ल शाहीले बताउनुभयो । आउदा दिनहरूमा यस्तै दुरदराजका जनाताको मागमा आधारित रहेर उनीहरुको आबश्यक्तालाई प्राथमिकतामा रहि काम गर्ने योजना रहेको पनि अध्यक्ष मल्लले सुनाउनु भयो ।

केसिडिसि संगको समन्वय साझेदारीमा व्याक टु लाइफ नामक अन्तर्राष्ट्रिय सस्थाले मुगु जिल्लामा स्वास्थ्य,शिक्षा र सामुदायिक विकासमा लामो समय देखि काम गर्दै आएको छ ।

प्रकाशित मिति : २०८० चैत्र २२ गते, बिहीबार


Scroll to Top

Janata Media