खानेपानीका कार्यालय मुगुका प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जनता संवाददाता
२०८१ बैशाख ३ गते, सोमबार

काठमाडौँ । मुगुको सोरु गाउँपालिका–५ स्थित खानेपानी सिँचाई तथा ऊर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजीव रिमालसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार सोरु गाउँपालिका वडा नम्बर ५ स्थित नेर सिँचाइ आयोजनाको पाइपलाइनको कार्य १७ सय समटर हुनुपर्नेमा ८१२।५ मिटर मात्र भई ८८७।५ मिटर फिल्डमा कम भएको कमलाई पनि झुटा नापी किताब बनाइ पहिलो र दोस्रो बिल स्वीकृत गरी पाँच लाख ६१ हजार ४८१ रुपियाँ बढी भुक्तानी गरी सरकारलाई हानिनोक्सानी पुर्‍याएको आरोप लागेको छ।

सब(इन्जिनियर नरबहादुर लावडले फिल्डमा नभएको कामको झुटा नापी किताब, बिल पेस गरी उपभोक्ता समितिलाई गैरकानुनी लाभ र नेपाल सकारलाई हानिनोक्सानी पुर्‍याएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर शाही, उपाध्यक्ष हिराबहादुर शाही र सचिव तीर्थबहादुर शाहीले सम्झौता बमोजिम लागत अनुमानभन्दा कम काम गरी नभएको कामको पनि भुक्तानीका लागि झुटा बिल पेस गरेको आरोप लागेको छ।

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौँमा आइतबार आरोपपत्र दायार भएको हो।

प्रकाशित मिति : २०८१ बैशाख ३ गते, सोमबार


Scroll to Top

Janata Media