काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले ३४४ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले आकाङ्क्षीलाई सम्बोधन हुनेगरी ठुलो आकारको केन्द्रीय कमिटी बनाएको हो।
पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाललाई चयन गर्दै ९३ जना केन्द्रीय सदस्यको घोषणा गरेको थियो।
शुक्रबार बसेको बैठकले केन्द्रीय सदस्यको सङ्ख्या बढाएर ३४४ जना पुर्याउने निर्णय गरेको पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
उनले भने, ‘‘हामीले ९३ जनाको नाम यसअघि नै सुनाइ सकेका छौँ। अहिले ३४४ सदस्यीय केन्द्रीय कमिटीको घोषणा गरिएको छ। अब केही दिनभित्र यी सबै केन्द्रीय कमिटीका सदस्यको शपथग्रहण समारोह राखिनेछ। त्यसपछाडि हामी पदाधिकारीहरू छनौट गर्नेछौँ। धेरै छिटो व्यवस्थापन गरेर पदाधिकारी चयन गर्ने काम हुनेछ।’’
केही दिनभित्र चयन गरिएका केन्द्रीय सदस्यको शपथग्रहण हुने पनि सो पार्टीले जनाएको छ। शपथग्रहण पछि पार्टीको पदाधिकारी चयन हुने बित्तिकै पदाधिकारीको चयन पनि हुने पार्टीका प्रवक्ता खतिवडाले बताए।







