हुम्लामा शिशु जन्मिएको डेढ घण्टापछि आमाको मृत्यु

जनता संवाददाता
२०८१ बैशाख १० गते, सोमबार

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा सुत्केरी भएको केही समयपछि एक जना महिलाको मृत्यु भएको छ । स्वास्थ्यचौकीमा प्रसूति गराउन गएकी २८ वर्षीया रिता देवकोटाको आइतबार राति १२ः३० बजे रोडिकोट स्वास्थ्यचौकीमा मृत्यु भएको हो ।

देवकोटाले बच्चालाई जन्म दिएको १ः३० घण्टा पछि मृत्यु भएको हो । मृतक देवकोटालाई शुक्रबारदेखि पानी बग्ने समस्या देखिए पनि आफन्तले ढिला आइतबार बिहान ११ बजे मात्रै स्वास्थ्यचौकी पुर्‍याउँदा समस्या उत्पन्न भएको स्वास्थ्यचौकीका इन्चार्ज टिका बोहराले बताईन् ।

इन्चार्ज बोहराकाअनुसार, आफन्तले भूतप्रेत लागेको भन्दै सुत्केरी व्यथाले च्यापेको एक दिनपछि मात्रै स्वास्थ्यचौकीमा ल्याउँदा समस्या भएको हो । रोडिकोट स्वास्थ्यचौकीमा कार्यरत अनमी लगायत सबै स्वास्थ्यकर्मी लागि परेर रातिको १०ः३० बजे बच्चा जन्माउन सफल भए पनि त्यसको केही समयपछि देवकोटाको मृत्यु भएको उनले बताईन् ।

उनले भनिन्, “बच्चा जन्माउनु अगाडि रगत बग्ने समस्या थियो । बच्चा जन्माएपछि रगत बग्न रोकिए पनि त्यसको केही समयपछि मृत्यु भयो ।” मृतक देवकोटाको उद्धारका लागि खबर गर्न रात परिसकेको हुनाले थप समस्या निम्तिएको उनको भनाइ छ ।

गाउँपालिका स्वास्थ्य शाखालाई खबर गर्न फोन गर्दा फोन नउठेको उनको भनाई छ । यता जिल्ला अस्पतालका वरिष्ठ अनमी सरिता बोहरासँग परामर्श लिएर बच्चा सकुशल जन्माएको उनले बताईन् । तर दुर्भाग्यवश आमाको मृत्यु भयो । यसअघि देवकोटालाई सर्केगाड स्वास्थ्य शाखामा उपचार गराउँदा समस्या रहेको बताउँदा घरपरिवारले कुनै चासो नराखेको उनको भनाइ छ ।

देवकोटाले पहिलो सन्तानका रूपमा छोरीलाई जन्म दिएकी थिईन् । दुर्गम हुम्लाका अधिकांश महिलाले कहिले उद्धार त कहिले उपकरणका साथै विज्ञ स्वास्थ्यकर्मीबाट सेवा नपाउँदा अकालमै ज्यान गुमाउनु परेको छ ।रासस

प्रकाशित मिति : २०८१ बैशाख १० गते, सोमबार


Scroll to Top

Janata Media