कागेश्वरी मनोहराको डाँछीमा भलिबल कभर्डहल बन्ने

जनता संवाददाता
२०८० बैशाख २९ गते, शुक्रबार

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)को पहलमा कागेश्वरी मनोहरा नगरपालिका, ६ डाँछीमा भलिबलका लागि नयाँ संरचना निर्माणका लागि भलिबल कभर्डहल बन्ने भएको छ । विहीबार राष्ट्रिय खेलकुद परिषद (राखेप)को पहलमा जग्गा हस्तान्तरण भएको हो ।

मूलपानीस्थित क्रिकेट रंगशालाको नजिकै पर्ने तिवारी टोलमा नगरपालिकाले ६३ रोपनी ८ आना जग्गा भलिबलको कभर्डहल निर्माणका लागि उपलब्ध गराउने गरी सम्झौतासमेत भएको छ ।

राखेप सदस्यसचिव टंकलाल घिसिङको रोहबरमा भलिबल संघका अध्यक्ष जितेन्द्र चन्द र नगरपालिकाका मेयर उपेन्द्र कार्कीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

भलिबल संघ र राखेपले भलिबलको पूर्वाधार निर्माणलाई यो आर्थिक वर्षमा प्राथमिकता दिएका थिए । यसबीचमा तारकेश्वर नगरपालिका, मध्यपुर थिमी नगरपालिका र त्रिपुरेश्वरस्थित राखेप कार्यालय परिसरको पुरानो पौडी पोखरीको जग्गालाई पनि भलिबल पूर्वाधार निर्माणको सम्भावित विकल्पका रुपमा हेरिएको थियो ।

सरकारले २०७४ जेठ ८ मा भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरेयता आर्थिक वर्ष २०७५र७६ देखि नै पूर्वाधार निर्माणका लागि नियमित बजेट विनियोजन गर्दै आएको छ । तर, हरेक वर्ष बजेट फ्रिज हुँदै आएको थियो । चालू आर्थिक वर्ष सरकारले भलिबलको पूर्वाधारका लागि १ करोड रुपैयाँ छुट्याएको छ ।

सो रकमले इण्डोर कभर्डहलको डीपीआरका लागि प्रयोग गर्न तत्कालै टेन्डर प्रक्रिया सुरु हुने संघका अध्यक्ष चन्दले जानकारी दिएका छन् । गत भदौमा भलिबल संघको निर्वाचन जितेका चन्दको प्रमुख चुनावी नारा नै आफ्नो कार्यकालमा कभर्डहल निर्माणको सुरुवात गर्ने थियो । एक वर्ष नपुग्दै उनले महत्वपूर्ण सफलता हासिल गरेका छन् ।

राखेपको रोहबरमा विहीबार नै कागेश्वरी मनोहरा नगरपालिकाले नेपाल बक्सिङ संघ र नेपाल रग्वी संघसँग पनि आफ्नो क्षेत्रमा पूर्वाधार निर्माण गर्न जग्गा दिने सम्झौता गरेको छ ।

नगरपालिकाले रग्बीका लागि वडा ७ स्थित सोमतीर्थमा १०८ रोपनी १२ आना ३ पैसा ३ दाम जग्गा उपलब्ध गराउने भएको छ । भलिबललाई वडा नं। ६ स्थित तिवारी टोलमा ६३ रोपनी ८ आना जग्गा प्रदान गर्ने छ । बक्सिङका लागि वडा नम्बर ६ स्थित अधिकारी टोलमा ८६ रोपनी ५ आना १ दाम जग्गा उपलब्ध गराउने सहमति पनि भएको छ ।

नगर प्रमुख कार्कीले आफ्नो क्षेत्रलाई स्पोर्टस हबका रुपमा विकास गर्ने प्रयास गरिएअनुसार क्रिकेट र गल्फबाहेक अरु खेलको प्रमुख पूर्वाधारका लागि सहमति दिइएको बताए ।

प्रकाशित मिति : २०८० बैशाख २९ गते, शुक्रबार


Scroll to Top

Janata Media