डोल्पाबाट निर्वाचित तिनै सांसद मन्त्री

जनता संवाददाता
२०८१ बैशाख १८ गते, मंगलवार

डोल्पा । हिमाली जिल्ला डोल्पाबाट सङ्घ र प्रदेशमा निर्वाचित सबै सांसदले मन्त्री हुने अवसर प्राप्त गरेका छन् । सङ्घ प्रदेश गरेर तीनवटा निर्वाचन क्षेत्र रहेको डोल्पाबाट निर्वाचित सबै सांसदले मन्त्री हुने अवसर प्राप्त गरेका हुन् ।

कर्णाली प्रदेश सरकारमा मात्रै डोल्पा जिल्लाबाट दुई मन्त्री नियुक्त भएका छन् । मङ्गलबार भएको मन्त्रिपरिषद विस्तारमा एउटै जिल्लाबाट सत्ता गठबन्धन दलबाट प्रतिनिधित्व हुने गरी दुई मन्त्री नियुक्त भएका छन् ।

डोल्पा जिल्ला प्रदेश ‘क’ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद शेरबहादुर बुढा भौतिक पूर्वाधारमन्त्री र प्रदेश ‘ख’ बाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का सांसद वीरबहादुर शाही सामाजिक विकासमन्त्री नियुक्त भएका छन् ।शाही दोस्रो पटक मन्त्री भएका हुन् । उनी यसअघि पनि उद्योग पर्यटन वन तथा वातावरणमन्त्री भइसकेका छन् ।

डोल्पाबाटै प्रतिनिधिसभामा निर्वाचित सांसद धनबहादुर बुढा यसअघि सङ्घीय सरकारमा एकीकृत समाजवादीबाट सहरी विकासमन्त्री भइसकेका छन् । एउटै जिल्लाबाट सङ्घीय सरकारमा एक र प्रदेश सरकारमा दुई मन्त्री नियुक्त भएपछि जिल्लामा सडक पूर्वाधारलगायतका विकासले गति लिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १८ गते, मंगलवार


Scroll to Top

Janata Media