काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विकास निर्माणका काम निकै सुस्त तथा अनावश्यक कार्यमा लगानी गरेको आफूले पाएको बताए । तराई मधेशको हुलाकी राजमार्गमा संवाद यात्रा गर्दा आफूले त्यस्तो अवस्था पाएको उनले बताए ।
सेन्टर फर डमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) ले ‘तराई मधेशको सन्दर्भमा विकासको भविष्य’ विषयमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले कतिपय विकास निर्माणका लागि थोरै रकम दिएपछि पूरा हुने खालको छ भने कतिपय विकास निर्माण अनावश्यक तरिकाले तयार गरेर राखिए पनि प्रयोगमा नआएको बताए । पालिका पालिकामा अस्पतालका लागि भवन बनेका छन् तर प्रयोगमा नआएका कारण कतिपय ठाउँमा त्यो खण्डहरको अवस्थामा पुगेको बताउँदै उनले विकासको योजना बनाउँदा त्यसका सान्दर्भिकता र आवश्यकतालाई हेरेर तय गर्नुपर्ने कुरामा जोड दिए ।
तराई मधेशमा घुम्दा पानीमा समस्या छ भने थाहा भयो, हाहाकारकै अवस्था छ जस्तो जानकारी गराइएको थियो तर पछि अध्ययन गर्दा अवस्था फरक देखिएको बताउँदै उनले त्यसको बारेमा बृहत् अध्ययनको आवश्यकता रहेको बताए । सिक्टा आयोजना सकिने बेलासम्म खेतमा धान होइन घर फल्छ भनि टिप्पणी हुने गरेको बताउँदै उनले आयोजनाको काम थालनी गर्दा त्यसको हरेक पाटोको अध्ययन गरेर मात्र सुरुवात गर्नुपर्ने बताए ।
उनले भने, “हामीसँग पैसा नभएर सिक्टा नबनेको होइन हामी गलत ठाउँमा लगानी गरेका छौँ । काठमाडौँमा ठुला ठुला भवन बनाएर अनावश्यक खर्च हुन्छ तर थोरै पैसा लगानी गरेपछि धेरै फाइदा हुने ठाउँमा लगानी छैन ।” सिँचाइको व्यवस्था भयो भने उत्पादन आफैँ वृद्धि हुने बताउँदै उनले तराई मधेशमा साना साना आयोजना छन् तर सम्पन्न नभएको बताए । हुलाकी सडक वरिपरि थोरै स्रोत परिचालन ग¥यो भने उत्पादन ह्वात्तै बढ्ने उनले धारणा राखे ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेलले चुरे बचाऊँको नाममा त्यहाँ अर्बौं लगानी भइरहेको छ तर त्यसका बारेमा गहन अध्ययन नभएको बताए । पानीको समस्या छ तर सबै ठाउँमा एकैनासको समस्या नरहेको उनले बताए । अध्ययनका लागि जनशक्ति चाहिन्छ तर नेपालमा त्यो जनशक्तिको अभाव रहेको बताउँदै उनले मन्त्रालय–मन्त्रालयको बिचमा पनि समन्वय नरहेको उनले बताए ।
उनले भने, “विकास गर्नका लागि रिस्क नलिएसम्म केही हँदैन, कहिले अमेरिकाको डर देखाइरहेका हुन्छन् त कहिले भारतको त कहिले चाइनाको, एमसिसी आयो भने अमेरिकी आर्मी आउँछन् भन्छन् कहिले यो विकास भयो भने भारतको हाबी हुन्छन् भन्छन् यो तरिकाले विकास गर्न सकिँदैन विकास गर्नका लागि रिस्क लिनु पर्छ ।”
उनले नेपालसँग स्रोत भए पनि विकास गर्न नसकेको बताउँदै उनले विगत सात वर्षदेखि नेपालमा विकासको नाममा अराजकता भइरहेको टिप्पणी गरे । भूकम्पको समयमा अनावश्यक रूपमा रकम वितरण भयो जुन आवश्यक नरहेको उहाँको टिप्पणी थियो ।
मधेशको मान्छेलाई आफ्नो नमानेका कारण त्यहाँ विकास नभएको बताउँदै उनले तराईलाई हिमाल–पहाडसँग कनेक्ट नगरेसम्म त्यहाँ विकास नहुने धारणा राखे । भारतसँग मधेशले प्रतिस्पर्धा गर्न सक्दैन यता पहाडसँग उसको सम्बन्ध छैन भन्दै उनले यसका लागि सडक तथा यतायातमार्फत पहाड र हिमालसँग कनेक्ट गर्नुपर्ने बताए । उनले भने, “मधेश इजरायलको गाजापट्टी जस्तो बसेको छ ।”
पुल्चोक इन्जिनियर क्याम्पसका प्राध्यापक पवनकुमार भट्टराईले तराईमा पानीको सुरक्षा बारेमा फरक फरक बुझाइरहेको बताउँदै त्यहाँ एकनासको समस्या नरहेको बताए । तराईमा पानीको मुख्य स्रोत जमिन मुनिको पानी हो, त्यसलाई कसरी संरक्षण गर्ने, त्यसलाई कसरी प्रयोगमा ल्याउने विषयमा फरक फरक बुझाइरहेको बताउँदै उनले जमिनमुनिको पानीको सतह घटिरहेको छ तर किन घटिरहेको छ यसको बारेमा अध्ययन नभएको बताए । उनले भने, “एक ठाउँमा पानी घट्यो भने सबैतिर त्यस्तै हुन्छ भने छैन । तराईमा पानी सुरक्षाको समस्या आउन सक्ने भएकाले त्यसका बारेमा गहन अध्ययनको आवश्यकता रहेछ ।”
पूर्वसचिव अर्जुनजङ्ग थापाले हुलाकी सडकको लम्बाइ अनावश्यक रूपमा बढिरहेको छ, अध्ययन गरी त्यसलाई घटाउन सकिने बताए । रुख कटान, सीमा विवाद, मुआब्जा विवादका कारण तोकिएको समयमा हुलाकी सडकको काम सम्पन्न नभएको बताउँदै उनले हालसम्म हुलाकी सडक निर्माणका लागि ६२ अर्ब रुपियाँ खर्च भइरहेको छ र ६० प्रतिशत काम मात्र भएको बताए । हुलाकी सडक पूर्ण रूपमा निर्माण गर्नका लागि अझै ४८ अर्ब ६२ करोड रुपियाँ चाहिएको उनले बताए ।







