प्रहरी र आजपा कार्यकर्ता बीच झडप: २ गम्भीर घाइते, २० पक्राउ

जनता संवाददाता
२०८१ बैशाख ३१ गते, सोमबार

काठमाडौँ । विभिन्न माग गर्दै भन्सार विभागमा शान्तिपूर्ण धर्ना र घेराउ गर्दै आएका आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्च र प्रहरी बीच आज ९सोमबार० झडप भएको छ।

काठमाडौंको त्रिपुरेश्वर स्थित भन्सार विभाग घेराउ र धर्ना दिँदै आएका आन्दोलनकारीलाई प्रहरीले पक्राउ समेत गरेको छ। आन्दोलनकारी र प्रहरी बीच भएको झडपमा परी आजपा केन्द्रीय सदस्य चन्दादेवी साह र चन्द्रिका साह गम्भीर घाइते भएका छन्।

यस्तै आजपाका वरिष्ठ उपाध्यक्ष एवं संविधानसभाका सदस्य तिलक थापामगर, प्रवक्ता चन्द्रभुषण साह, आजपा नेतृ एवं भन्सार कानून सुधार संघर्ष समितिकी संयोजक रञ्जु साह, नेताहरु आर्य पाण्डे, चन्द्रिकालाल साह, देवकुमारी साह, कनक सिंह, मिनादेवी साह, विरवल यादव, हरिनारायण साह, सुनिल कुमार साह, सुरेश साह, प्रभु साह, अरुण कुमार साह, शम्भु साह, वीरबहादुर यादव, सिकेन्द्र साह, जयकिशोर साह, रामकिशोर साह, उमेश साह, रामनारायण साह लगायतलाई प्रहरीले पक्राउ गरेको आजपा स्थायी कमिटीका सदस्य बालकृष्ण सापकोटाले जनाएका छन्।

आजपाले विगत लामो समयदेखि भन्सारमा भएको लुटकारी प्रावधान खारेजीको माग गरेर आन्दोलन गरिरहेको छ। अहिले चौथो चरणको आन्दोलन चलेको छ।चौथो चरणको आन्दोलनको आज ११ औं दिन हो।

आजपाले अब भन्सारको लुटकारी प्रावधान खारेजीमा सरकार सकारात्मक नबने कडा आन्दोलन चाल्ने र आन्दोलनबाट उत्पन्न हुनै सबै खाले परिस्थितिको जिम्मेवारी पनि सरकारले नै लिनुपर्ने चेतावनी आजपा नेतृ रञ्जु साहले दिएकी छिन्।

भन्सारमा कथित पुरस्कारको नाममा लुट्ने काम भएको र निजी सम्पत्ति कब्जा गर्ने काम भएको आजपाको ठहर छ। आजपाले भन्सार कानूनमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेज गर्नुपर्ने लगायतका माग गर्दै आएको छ।

आजपाले भन्सार नियन्त्रणको नाममा तराईरमधेशका जनताको निजी सम्पत्ति लुट्ने काम तुरुन्त बन्द गर्न तथा भन्सार कानूनमा रहेका सम्पूर्ण विभेदकारी एवं लूटकारी प्रावधान हटाउन गत भदौदेखि चरणबद्ध आन्दोलन गर्दै आएको हो।

प्रकाशित मिति : २०८१ बैशाख ३१ गते, सोमबार


Scroll to Top

Janata Media