जेनजी आन्दोलनपछि दलहरूमा नेतृत्वसहित सुधारको माग बढ्दो

जनता संवाददाता
२०८२ आश्विन २४ गते, शुक्रबार

काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी युवाहरूको आन्दोलनले सिर्जना गरेको वर्तमान राजनीतिक परिस्थितिमा मूलधारका पुराना राजनीतिक दलहरूको पुनर्गठन हुनुपर्ने बहस अहिले चलिरहेको छ ।

आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन अघि नै विशेष गरी नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरूमा नेतृत्व परिवर्तनका साथै आन्तरिक सुधारको बहस चर्को रूपमा उठिरहेको छ ।

युवा पिँढीका माग अनुसार पार्टी पुनर्गठन नभई अहिले कै नेतृत्वमा फागुन २१ गते हुने भनिएको चुनावमा जान नसक्ने भन्दै त्यसअघि नै पार्टी पुनर्गठनको माग दलहरू भित्रैका दोस्रो र तेस्रो तहका नेताहरूले गरिरहेका छन् ।

विशेष गरी नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्को रूपमा उठेको छ । खास गरी लामो समयदेखि एकै व्यक्ति नै पार्टीको मूल नेतृत्वमा रहिरहने र बदलिँदो परिस्थिति अनुसार पार्टी सञ्चालन पनि गर्न नसक्ने तथा पार्टीमा आन्तरिक लोकतन्त्रको अभ्यास समेत नगरिँदा ठुला दलहरूमा उकुसमुकुस देखिँदै आएको छ । त्यसमाथि जेनजी आन्दोलनले अघि सारेका मागहरू र आन्दोलनका कारण भएको परिवर्तनले दलहरूमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको आवाज झनै मुखर बन्दै आएको छ ।

दलका युवा नेतृत्व मात्र होइन, नागरिक अगुवाहरूले समेत बदलिँदो राजनीतिक परिवेशमा दलहरूमा व्यापक सुधारको आवश्यकता औँल्याउन थालेका छन् ।

लोकतन्त्रमा राजनीतिक दलहरूबिना चुनाव नहुने र राजनीतिक दलहरू चुनावमा सहभागी हुनै पर्ने हुनाले विद्यमान दलहरूमा राजनीतिक संस्कारको विकास आवश्यक रहेको बताउनुहुन्छ, प्राध्यापक एवं राजनीतिक विश्लेषक लोकराज बराल । उहाँ भन्नुहुन्छ “लोकतन्त्रमा पार्टी हुन्छ हामीलाई मन परे पनि नपरे पनि मेकानिजम एउटा यन्त्र चाहिने रैछ चुनावमा लड्न पर्‍यो, सरकार बनाउन पर्‍यो व्यक्ति भएर हुँदैन । त्यसका लागि दलहरू पारदर्शी हुनुपर्‍यो जनताले दलका नेताहरू पनि स्वच्छ छन् है भ्रष्टाचार गर्दैनन्, संस्थागत विकासमा ध्यान दिन्छ, लोकतन्त्रप्रति प्रतिबद्ध छ, जनता प्रति प्रतिबद्ध छ भन्ने खालको बन्नुपर्ने र देखिनु पर्छ राम्रो लाई त राम्रो सबैले भनिहाल्छन् नि ।”

जेनजी आन्दोलनको भावना अनुसार दलहरूमा परिवर्तनको आवश्यकता बोध भइरहँदा नेकपा माओवादी केन्द्रले मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेर तयारी गरिरहेको छ भने काँग्रेस र एमालेले केन्द्रीय समितिको बैठक बसेर आवश्यक निर्णय लिने बताइरहेका छन् । तथापि, यी दुवै दलमा विशेष महाधिवेशनको आयोजना गरी नेतृत्व परिवर्तनको आवाज जोडदार रूपमा उठिरहेको छ ।

दलहरू चुनावमा भाग लिनका लागि पुनर्गठन हुनुपर्छ भन्ने त्यस्तो कुनै व्यवस्था नभए पनि अहिलेको दम्भ र घमन्ड छोडेर नयाँ नेतृत्व र नयाँ दृष्टिकोणसहित अगाडि बढ्न नसके पार्टीहरू कै लागि नकारात्मक प्रभाव पर्न सक्ने राजनीतिक विश्लेषक विष्णु सापकोटाको भनाई छ । “संवैधानिक कानुनी रूपमा दलहरू चुनावमा जान पुनर्गठन हुनुपर्छ भन्ने त छैन । फेरिएर नफेरिएर जसरी पनि जान त पाउँछन् तर अहिलेको दलहरू काँग्रेस, एमाले, नेकपा माओवादी केन्द्र यस्तै रूपमा ओभर हठ यसमा त पुनर्गठन अझै सानो जस्तो लाग्छ मलाई देखिने खालको नयाँ दृष्टिकोण र भिजन सहित आएनन् भने यिनीहरूका लागि एकदमै खिइने र औपचारिक पतनको सुरुवात हुन सक्छ । ”

जेन–जी युवाको आन्दोलनपछि सिर्जना भएको विशेष र असाधारण राजनीतिक परिवेशलाई मध्यनजर गर्दै दलहरू भित्रैबाट नेतृत्व परिवर्तन नभएसम्म चुनावमा जाने मुद्दा नै नहुने सम्मका तर्कहरू पनि उठिरहेका बेला लोकतान्त्रिक अभ्यास अनुसार सबै दलमा आमुल परिवर्तन र सुधारको खाँचो रहेको विश्लेषकहरूको ठम्याई छ ।

प्रकाशित मिति : २०८२ आश्विन २४ गते, शुक्रबार


Scroll to Top

Janata Media