प्रधानमन्त्रीद्वारा अरुण तेस्रोको ‘ब्रेक थ्रु’ गरिने

जनता संवाददाता
२०८१ जेष्ठ २१ गते, सोमबार

काठमाडौँ। सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको सुरुङ मङ्गलबार छिचोलिने ‘ब्रेक थ्रु’ गरिने भएको छ । मकालु गाउँपालिकाको आम्राङस्थित अडिट २ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ब्रेक थ्रु गर्नुहुने भएको हो ।

ब्रेक थ्रु कार्यक्रमका लागि प्रधानमन्त्री प्रचण्ड मङ्गलबार बिहान ९ बजे अरुण तेस्रोको आम्राङस्थित अडिट २ आइपुग्नुहुने कार्यक्रम रहेको छ । सोही स्थानमा आयोजित कार्यक्रममा ११।८३ किलोमिटर लम्बाई रहेको अरुण तेस्रोको मुख्य सुरुङमा विस्फोट गरी छिचोलिने कार्यक्रम रहेको छ ।

आम्राङमा ब्रेकथ्रु पश्चात् प्रधानमन्त्री हेलिकोप्टरबाट नै चिचिला गाउँपालिका ३ स्थित पुखुवा दोभानको विद्युत गृह निर्माण क्षेत्रमा आयोजित कार्यक्रममा सहभागी हुनुहुनेछ । उनले निर्माणाधीन विद्युत गृहको अवलोकन पश्चात् औपचारिक कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । कार्यक्रमपछि दिउँसो १ बजे पुखुवाबाट काठमाडौँ फर्किनेछन् ।

अरुण तेस्रो जलविद्युत परियोजनाको ७५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भइसकेको आयोजनाले जनाएको छ । यस परियोजनाको मकालु गाउँपालिका ५ स्थित फ्याक्सिन्दा दोभानमा बाँध निर्माण भइरहेको छ । उक्त बाँधबाट ११.८३ किलोमिटर लामो सुरुङ मार्गबाट पानी ल्याई चिचिला गाउँपालिका(३ स्थित पुखुवाको विद्युत गृहबाट विद्युत उत्पादन गरिनेछ ।

एक खर्ब चार अर्ब लागत अनुमान गरिएको यस परियोजनाबाट नेपाललाई २१ दशमलव ९ प्रतिशत निःशुल्क विद्युत प्राप्त हुनेछ भने विभिन्न शीर्षकमा तीन खर्ब ४८ रुपियाँ आर्थिक लाभ मिल्नेछ । आयोजनाबाट स्थानीय प्रभावितहरूले एक अर्ब ६० करोड रुपियाँको सेयर पाउनुका साथै प्रति महिना ३० युनिटसम्म विद्युत निःशुल्क प्राप्त गर्ने छन् । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने विद्युत विकास सम्झौतामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २१ गते, सोमबार


Scroll to Top

Janata Media