काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यागमनका कर्मचारी र प्रहरीबिच भएको हातपातको घटनाका दोषीलाई कडा कारबाही हुने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले सो घटना दुःखद् भएको निष्कर्ष निकाल्दै त्यसका दोषीमाथि कारबाही हुने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उपप्रधानमन्त्री श्रेष्ठले सो घटनामा संलग्न असईसहित अन्य दुई जना प्रहरीलाई र अध्यागमनका कर्मचारीलाई त्यहाँबाट हटाएर विभागीय कारबाही गर्न छानबिन समितिले सुझाव दिएकाले सोही अनुसारको कारबाही प्रक्रिया अघि बढ्ने बताए ।
उनले अध्यागमन विभागमा सो खालको घटना फेरि दोहोरिन नदिन सरकारले त्यहाँको सबै कामकारवाही स्वचालित प्रक्रिया बाट सुरु गर्न लागिएको बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘‘सिधै भन्न सकिने कुरा के हो भने व्यवसायिक आचरण भएन। मुख्य कुरा त त्यही हो । व्यवसायिक आचरण नहुँदा त्यो घटना घट्न पुग्यो ।
हामी एक्सनको प्रक्रियामा भइसकेपछि त्यो घटना घट्यो। अब जे भयो, दुःखद् भयो। त्यस्तो घटना दोहोरिन दिनु हुँदैन । त्यसको निम्ति छानविन गरेर दोषीलाई कारबाही गर्ने पहिलो कुरा भनेर हामीले निष्कर्ष निकालेका छौं।
एउटा पक्ष प्रहरीलाई मात्रै कारबाही भयो कि भन्ने कुरा पनि आयो । प्रतिवेदनको निष्कर्ष त्यस्तो छैन ।’’
उपप्रधानमन्त्री श्रेष्ठले अध्यागमन विभाग भित्रको बेथिति हटाउनका लागि सरकारले कडा कदम चाल्ने थालेपछि त्यहाँ भित्र हातहातको अवस्था आएको पनि छानबिन समितिको प्रतिवेदनको निष्कर्ष रहेका समितिलाई जानकारी गरा ए।