टी-२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित

जनता संवाददाता
२०८१ जेष्ठ २३ गते, बुधबार

काठमाडौं,। आईसिसी टी–२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ । सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ बलमा चार विकेटको क्षतिमा १०९ रन बनाउँदै पूरा गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले सबै विकेट गुमाउँदै १९.२ ओभरमा १०६ रन बनाएको थियो ।

नेदरल्यान्डसका लागि म्याक्स अनवार्डले अर्धशतक बनाए । ४८ बलको सामना गर्नुभएका म्याक्सले एक छक्का र चार चौकाको मद्दतमा ५३ रन जोड्नुभएको हो । उसका लागि विक्रमजीत सिंहले २२ रन बनाए ।नेपालका लागि सोमपाल कामी, अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरीले समान एकएक विकेट लिए l

सुरुमा ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३५ रन बनाए । ३७ बलको सामना गर्दै पौडेलले ५ चौका प्रहार गर्नुभएको थियो ।

नेपालले ओपनर कुशल भुर्तेललाई ७ र आशिफ शेखलाई ४ रनमै गुमाएको थियो । अनिल शाह १२ बलमा ११ रन जोड्दै आउट हुनुभयो । कुशल मल्ल ९ बलमा ९ रन बनाएर आउट हुँदा दीपेन्द्रसिंह ऐरीले ६ बलको सामना गर्दै मात्र १ रन जोड्नुभएको थियो । करन केसीले १२ बलमा १७ तथा गुल्सन झाले १५ बलमा १४ रनको योगदान दिए । नेपालका लागि करणले दुई र गुल्सनले एक छक्का प्रहार गरे ।

नेपाललाई सस्तैमा समेट्न नेदरल्यान्ड्सका लागि टिम प्रिंगल र लोगन भान विकले तीनतीन विकेट लिनुभयो भने पाउल भान मेकरेन र बास डे लिडेले दुईदुई विकेट हात पारे ।

प्रकाशित मिति : २०८१ जेष्ठ २३ गते, बुधबार


Scroll to Top

Janata Media