जङ्गलमा बसेका पाँच सय घर, टहरा भत्काइयो

जनता संवाददाता
२०८१ असार १० गते, सोमबार

काठमाडौँ । कैलाली भजनी नगरपालिकाको वडा नम्बर १ र ९ मा बाढीपीडितका नाममा १८ वर्षदेखि बस्दै आएका झण्डै पाँच सय घररटहरा सोमबार भत्काइएको छ ।

डिभिजन वन कार्यालय पहलमानपुरले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा घर टहरा भत्काएको हो । वर्षातका बेला घर डुबान परे भनेर केही दिनलाई बस्न आएकाहरूले जङ्गल क्षेत्र खाली नगरेकाले हटाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक एवम् पदमबहादुर विष्टले बताए।

उनका अनुसार डिभिजन वन कार्यालयका प्रमुख रामविचारी चौधरीको नेतृत्वमा घररटहरा भत्काउन थालिएको छ । सुरुमा जङ्गल क्षेत्र खाली गराउन समस्या उत्पन्न हुने देखिएको थियो । तर सुरक्षाकर्मीको मेहनतले त्यो समस्या समाधान भएको छ ।

भजनी बजार छेउमा रहेको जङ्गलमा सो नगरपालिकाका वडा नम्बर ३, ५, ७ र ९ का बासिन्दाहरू बाढीपीडित भन्दै बस्न आएका थिए ।

प्रकाशित मिति : २०८१ असार १० गते, सोमबार


Scroll to Top

Janata Media