द्वन्द्वमा अपहरणपछि बेपत्ता श्रीमान-श्रीमतीको २० वर्षपछि

जनता संवाददाता
२०८१ असार २० गते, बिहीबार

काठमाडौँ। सशस्त्र द्वन्द्वको समयमा खोटाङमा विद्रोही पक्षबाट अपहरणमा परेका श्रीमान् २० वर्षदेखि बेपत्ता थिए। अपहरणपश्चात् बेपत्ता श्रीमान् र श्रीमतीको २० वर्षपछि भेट भएको छ।

तत्कालीन नेकपा (माओवादी)का कार्यकर्ताले २०६० साल मङ्सिरमा अपहरण गरेपछि बेपत्ता भएका जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी खोटाङ ५३ वर्षीय उदयबहादुर खड्का र उनकी श्रीमती पुण्यमाया बस्नेत (खड्का)को असार १७ गते भेट भएको हो। हप्ता दिनअघि भारतको मेघालय सिलोङमा फेला परेका उदयबहादुरलाई असार १६ गते विराटनगर ल्याइएको थियो। विराटनगर आएपछि आफ्नै दाजु रेशमबहादुर खड्काको घरमा रहनुभएका उदयबहादुरलाई भेट्न श्रीमती विराटनगर पुग्नुभएको हो ।

अपहरणमा परे यता परिवारको सम्पर्कमा नरहेका उदयबहादुरलाई भोजपुर साल्पासिलिछो गाउँपालिका घर भई हाल मेघालयमा काम गर्दै बसिरहेका मिलन राईले जङ्गलछेउमा भेटेर गत असार १० गते फेसबुकमार्फत तस्बिर सार्वजनिक गरेका थिए।अपहरणपछि उनलाई नेकपा माओवादीका कार्यकर्ताले ‘कहाँ छाडे र उनी कसरी सिलोङ पुग्नुभयो’ भन्ने विवरण खुल्न बाँकी नै छ।

अस्वस्थ अवस्थामा सिलोङमा भेटिएका उदयबहादुरलाई छिमेकी एवम् कांग्रेस जन्तेढुङ्गा गाउँपालिका सभापति बाजिन्द्र बिष्टको पहलमा असार १८ गते कोसी अस्पताल विराटनगरको इमर्जेन्सी वार्डमा भर्ना गरिएको छ।उनी निमोनिया, रातभर खोकी लाग्ने र दिसापिसाब नरोकिने समस्याबाट पीडित छन्।

सामान्य आर्थिक अवस्थाका उदयबहादुर र पुजनका दुई छोरा र दुई छोरी थिए । उदयबहादुर अपहरणमा पर्दा कान्छो छोरा सुरज ७ महिनाको मात्रै थिए।चार सन्तानमध्ये जेठो छोरो अनिलको चार वर्षअघि मृत्यु भइसकेको छ। छोरी सिर्जना र सुशीलाले आ–आफ्नै घरजम बसाइसकेका छन्। कान्छो सुरज वैदेशिक रोजगारीका सिलसिलामा चार महिनाअघि मात्रै दुबई पुगेका छन्।विवाह गरेर काठ्माडौं जम्बोडाँडामा बसिरहेका जेठो अनिल २०७६ वैशाख १ गते झुण्डिएको अवस्थामा शङ्कास्पद मृत फेला परेका थिए।

सुत्केरी अवस्थामा श्रीमानसँग छुट्नुभएकी पुण्यमाया बुढेसकालमा घरमा एक्लै बसेकी ् थिईन्। द्वन्द्व पीडित भए पनि उदयबहादुरका परिवारले हालसम्म राज्यबाट कुनै सेवा सुविधा नपाएको आफन्त श्यामसुन्दर कार्कीले बताए।

मादक पदार्थ सेवन गरेर श्रीमतीमाथि घरेलु हिंसा गरेको उजुरीका आधारमा उदयबहादुरलाई तत्कालीन नेकपा (माओवादी)का कार्यकर्ताले हात बाँधेर घरबाट लगेका थिए। घरबाट हिँडाएपछि माओवादी कार्यकर्ताले उदयबहादुरलाई ‘कहाँ लगे, कहाँ पुर्‍याए’ परिवारलाई अत्तोपत्तो थिएन।उदयबहादुर ‘ज्युँदो छन् वा मरे’ भन्ने बारेमा अनेकथरीका अडकलबाजी हुँदै आएको थियो।परिवारले माया मारिसकेको अवस्थामा उदयबहादुर भारतमा जीवित फेला परेका हुन्।

अपहरणअघि नेकपा (माओवादी)का कार्यकर्ताले उदयबहादुरलाई चौतारोमा लगेर निर्घात कुटपिट गर्दै ‘सुध्रिन’ चेतावनी दिएको थियो।श्रीमानको अत्तोपत्तो नभएपछि पुण्यमायालाई डेढ वर्षदेखि एकल महिलाको भत्ता दिने व्यवस्था मिलाइएको थियो।

उदयबहादुर सिलोङमा मजदुरी गर्दै पेटपालो गर्ने गरेको बुझिएको छ। स्वास्थ्यमा समस्या आएपछि उनीलाई डेराबाट निकालिएको थियो। डेरा नपाएपछि तीन महिनादेखि जङ्गलमा कोइला निकालेको खाल्डोमा बस्दैआएको पाइएको छ।

द्वन्द्वकालमा उदयबहादुरका दाजु रेशमबहादुर पनि विस्थापित भएका थिए।नेपाल प्रहरीको जागिर छाडेपछि रेशमबहादुर गाउँ छाडेर विराटनगर सर्न बाध्य बनेको बताइएको छ ।

 

प्रकाशित मिति : २०८१ असार २० गते, बिहीबार


Scroll to Top

Janata Media