काठमाडौं, । आज नयाँ प्रधानमन्त्रीको नियुक्ति हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्धारण गरेको आइतबारको समयसीमा पछि प्रधानमन्त्रीको नियुक्ति हुने छ ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने, ‘‘आज दिइएको समय सीमापछि मात्र नियुक्ति प्रक्रिया र शपथको प्रक्रिया अगाडि बढ्छ ।’’
राष्ट्रपति पौडेलले आइतबार साँझ ५ बजेसम्मका लागि प्रधानमन्त्रीमा दावी पेश गर्ने समय निर्धारण गरेका छन् । उनीको आह्वान अनुसार, नेपाली काँग्रेस र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न आग्रहसहित राष्ट्रपतिसमक्ष शुक्रबार राति नै दाबी पेश गरिसकेका छन् । शपथ कार्यक्रम भने सोमबार मात्र हुने सम्भावना छ ।
प्रतिनिधिसभामा पहिलो ठुलो दल काँग्रेसको समर्थनमा एमाले अध्यक्ष ओलीले १६६ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दावी पेश गरेका छन् । संविधानको धारा ७६ (२) अनुसार उनले सो पदका लागि दावी पेश गरेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद बैठकमा विश्वासको मत प्राप्त गर्न असफल भएपछि नयाँ प्रधानमन्त्री नियुक्त प्रक्रिया सुरु भएको हो । काँग्रेस–एमालेले नयाँ प्रधानमन्त्रीको नियुक्त भएलगत्तै मन्त्रीहरुलाई सरकारमा पठाउने गरी गृहकार्यमा जुटेका छन् ।







