महिला एसिया कपः नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

जनता संवाददाता
२०८१ श्रावण ७ गते, सोमबार

काठमाडौँ । एसीसी महिला एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ ।

श्रीलङ्काको डम्बुला स्टेडियममा टस हारेर सुरुमा ब्याटिङको गरेको नेपालले दिएको १०९ रनको चुनौती पाकिस्तानले मात्र १ विकेट गुमाएर भेट्टाएको हो ।

पाकिस्तानका लागि गुल फिरोजाले अर्धशतक पूरा गरिन् । उनले ३५ बलको सामना गर्दा १० चौकाको मद्दतमा ५७ रन जोडेकी हुन् । उसका लागि मुनिबा अलीले नटआउट ४६ रन जोडिन् । नेपाली बलरसामू हाबी भएको पाकिस्तानले ११.५ ओभरमै एक विकेट गुमाएर ११० रन बनाएको हो । नेपालका लागि एक विकेट कविता जोशीले लिएकी हुन् ।

सुरुमा ब्याटिङ गरेको नेपालका लागि कविता जोशीले नटआउट २३ बलमा ४ चौकाको मद्दतमा सर्वाधिक ३१ रन जोडिन् । सीता रानामगर २६ र पूजा महतोले २५ रन जोडिन् । कविता कुँवरले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १०८ रन बनाएको थियो ।

नेपालविरुद्ध कसिलो बलिङ गरेको पाकिस्तानका लागि सादिया इकबालले दुई विकेट लिनुहुँदा फातिमा सानाले एक विकेट हात पारिन् ।

समूह ‘ए’को नेपाल पहिलो खेलमा युएईमाथि ६ विकेटले विजयी भएको थियो । पहिलो खेलमा भारतसँग पराजित भएको पाकिस्तानले दोस्रो खेलमा नेपालमाथि जित निकाल्दै दुई अंक जोडेको छ ।

एसिया कपको समूह ‘ए’को भारतले चार अंक जोडेको छ भने नेपाल र पाकिस्तानले समान दुईदुई अंक जोडेका छन् । समूह चरणको अन्तिम खेलमा अब नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ भने पाकिस्तानले यूएईको सामना गर्नेछ । समूह ‘ए’मा दुई खेल खेलेको यूएई अंकबिहीन छ ।

समूह ‘बी’मा रहेका श्रीलंका र थाइल्याण्डले समान दुईदुई अंक जोड्दा मलेसिया र बंगलादेश अंकबिहीन छन् ।

प्रकाशित मिति : २०८१ श्रावण ७ गते, सोमबार


Scroll to Top

Janata Media