एएफसी च्यालेन्ज लिगमा पारोसँग चर्च ब्वाइज पराजित

जनता संवाददाता
२०८१ श्रावण ३० गते, बुधबार

काठमाडौँ । एएफसी च्यालेन्ज लिगको प्लेअफ खेलमा नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लब भुटानको पारो एफसीसँग पराजित भएको छ ।

दशरथ रङ्गशालामा मङ्गलबार साँझ भएको खेलमा चर्च ब्वाइज पारोसँग २–१ गोलले पराजित भयो । निरन्तर झरीका कारण हिलाम्मे मैदानमा सुरुवाती अग्रता लिएपनि चर्च ब्वाइज स्तब्ध बन्यो ।

पहिलो हाफमा १–१ गोलको बराबरीमा सकिएको खेलमा पारोले दोस्रो हाफमा निर्णायक गोल गरेको थियो । जितसँगै पारो एफसी एएफसी च्यालेन्ज लिगमा छनोट भएको छ । खेलमा सुरुवाती अग्रता चर्च ब्वाइजले लियो ।

३८औँ मिनेटमा लाकेन लिम्बुले गोल गर्दै टोलीको उत्साह जगाएका थिए । तर, लगत्तै पारोका कर्मा क्षेत्रीमले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि ६७औँ मिनेटमा विलियम ओपोकुले गोल गर्दै पारोलाई जिताए ।

जापानका स्टार खेलाडी होन्डासहित ११ जना विदेशी खेलाडीको साथ पाएको पारोलाई हिले मैदानमा जित निकाल्न निकै हम्मे परेको थियो । यता नेपाली राष्ट्रिय टोलीका खेलाडीको साथ पाएको चर्च ब्वाइज दोस्रो हाफमा सम्हालिन नसक्दा हार खेप्न बाध्य बन्यो ।

प्रकाशित मिति : २०८१ श्रावण ३० गते, बुधबार


Scroll to Top

Janata Media