हुम्ला । जिल्लाको सर्केगाड गाउँपालिकाको थाहामा मिनिट्रक दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
शनिवार अपरान्ह ३ बजेको समयमा सर्केगाड बजारबाट थाहा हुँदै सलिसल्ला जाँदै गरेको कर्णाली प्रदेश ०२९००१ क ००९५ नम्बरको मिनिट्रक दुर्घटनामा परेको हो ।
सर्केगाड गाउँपालिकाको केन्द्र सर्केगाड बजारबाट सरीसल्ला तर्फ जाँदै गरेको मिनिट्रक चंखेली गाउँपालिका वडा नम्बर ४ का २५ वर्षिय नयन बुढाले चलाएका थिए । अचानक ब्याक भएको उक्त मिनिट्रक सडकबाट अन्दाजी ५० मिटर तल खस्दा चालक सहित ४ जना घाइते भएको सर्केगाड प्रहरी चौकीले जनाएको छ ।
घाइते हुनेमा चालक नयन बुढा, महेश ऐडी, धनराज ऐडी र दिपेश ऐडी रहेका छन् । चालक बुढा बाहेक अन्य तीनै जना मिनिट्रकका साहुका छोरा रहेको बताइएको छ ।
दुर्घटनामा परि घाइते हुनेमा चालक बुढाको कम्मर भन्दा तलको भाग नचल्ने भएको छ भने अर्का घाइते मिनिट्रक साहुको छोरा सर्केगाड ८ फुचाका १५ वर्षिया महेश ऐडीको बाँया हात र खुट्टा फ्याक्चर भएको छ । अरु २ जना पनि ट्रकसाहुकै छोराहरु रहेका छन् । अर्का घाइते १८ वर्षिया धनराज ऐडीको टाउकोमा सामान्य चोट लागेको छ । घाइते भएका १३ वर्षिया दिपेश ऐडीको पनि टाउकोमा सामान्य चोट लागेको सर्केगाड प्रहरी चौकीले जानकारी दिएको छ ।
घाईते चारै जनालाई उद्दार गरी सायाँ स्वास्थ्य चौकी सर्केगाडमा उपचारका लागि लगिएको भएपनि गम्भीर घाइते भएका नयन बुढा र महेश ऐडीलाई थप उपचारका लागि बाजुराको कोल्टी स्थित प्राथमिक स्वास्थ्य भौकीमा लगिएको साँया स्वास्थ्य चौकीले जनाएको छ । अन्य दुई जना सामान्य घाइतेको साँया स्वास्थ्य चौकिमै उपचार भइरहेको छ ।







