जिल्ला अध्यक्षहरुको भेला गर्दै राप्रपा, हुम्लाबाट महत पनि काठमाडौँमा

जनता संवाददाता
२०८१ श्रावण १६ गते, बुधबार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जिल्ला अध्यक्षहरुको भेला बोलाएको छ । राप्रपाले यही साउन १७ र १८ गते काठमाडौँमा हुने गरी जिल्ला अध्यक्षहरुको भेला बोलाएको हो ।

राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले यही साउन १७ गते धुम्बाराही स्थित एसआर बैंक्वेटमा भेलाको उदघाटन गर्ने गरी कार्यक्रम तय भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । उनकाअनुसार भेलामा ७७ वटै जिल्लाका अध्यक्षहरुले आफ्नो जिल्लाको साङ्गठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।

भेलामा पार्टीको समग्र साङ्गठनिक अवस्थाको गम्भीर समिक्षा गर्ने तयारी छ भने विगतका निर्वाचनका कमी कमजोरीको समिक्षा गर्दै आगामी रणनीति तय गर्ने जनाइएको छ । त्यस्तै, पार्टीले लिएका नीति र यसले पार्टी पंक्ति तथा जनसमुदायमा पारेको प्रभावको विश्लेषण गर्ने, पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आगामी वैशाख मसान्तसम्म स्थानीय तहको अधिवेशन गरिसक्ने लगायत विषयहरुमा छलफल हुनेछ ।

यो भेलाले पार्टी अध्याक्ष लिङ्देनलाई काम गर्न सहज र अझ बलियो बनाउने उद्येश्य रहेको राप्रपा हुम्लाका अध्यक्ष विकास बहादुर महतले जानकारी दिए ।

भेलामा पार्टी अध्यक्ष लिङ्देनले पार्टीको नीति, विचार, सिद्धान्तलगायत रणनीति र आगामी कार्ययोजनाबारे जिल्ला अध्यक्षहरुलाई निर्देशन गर्नेछन् भने पार्टीका पूर्व अध्यक्ष पशुपति शमसेर जबरा, निर्देशन समितिका अध्यक्ष प्रकाशचन्द्र लोहनी र नेताहरुले पार्टी सङ्गठनका विविध पक्षमा जिल्ला अध्यक्षसँग सामूहिक छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २०८१ श्रावण १६ गते, बुधबार


Scroll to Top

Janata Media