कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेललाई विश्वासको मत प्राप्त

जनता संवाददाता
२०८१ श्रावण २२ गते, मंगलवार

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् ।

सोमबार प्रदेशसभा बैठकबाट मुख्यमन्त्री कँडेलले विश्वासको मत पाएका हुन् । कांग्रेस(एमालेबीच नयाँ समीकरण बनेसँगै माओवादी केन्द्रले ७ साउनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रदेशसभामा विश्वासको मतको प्रस्ताव पेस गरेका थिए ।

कँडेलका पक्षमा कांग्रेस, एमाले र स्वतन्त्रसहित २३ जना सांसदले मत दिए । ४० सदस्यीय प्रदेशसभामा मतदानमा ३७ जना सांसद सहभागी थिए । मुख्यमन्त्री कँडेलको विपक्षमा १४ मत परेको छ । कर्णाली प्रदेशसभामा कांग्रेसका १४, एमालेका सभामुखसहित १०, माओवादी केन्द्रका १३ एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रका एक(एक सांसद छन् ।

कांग्रेसका १४ सांसदमध्ये संसदीय दलका नेता जीवनबहादुर शाही र राप्रपा सांसद सन्तोषी शाही अनुपस्थित भए । अख्तियारले बाइडबढी खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेपछि शाही अहिले निलम्बनमा छन् । २७ चैत २०८० मा नेकपा माओवादी केन्द्रको समर्थनमा कँडेल मुख्यमन्त्री बनेका थिए ।

प्रकाशित मिति : २०८१ श्रावण २२ गते, मंगलवार


Scroll to Top

Janata Media