गुल्मीमा बराण्डाबाट लडेर एकको मृत्यु

जनता संवाददाता
२०८१ भाद्र ४ गते, मंगलवार

गुल्मी । गुल्मीमा घरको बराण्डाबाट लडेर एक जनाको मृत्यु भएको छ । यस जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर १, र्‍याले बस्ने अन्दाजी ३५ वर्षीय कमल कुमालको घरको बराण्डाबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) शंकर पोखरेलका अनुसार कुमाल सोमबार (हिजो) आफ्नै टिनले छाएको तीन तले कच्ची घरको बिच तलामा जोडिएको बराण्डाबाट लडेका हुन् ।

सोही बराण्डामा रहेको आफू सुत्ने कोठामा सुत्न जाने क्रममा बराण्डाबाट तीन मिटर तल खसेर घटनास्थलमै निजको मृत्यु भएको बताइएको छ । घटनास्थलको मुचुल्का गरी शवलाई पोस्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र ४ गते, मंगलवार


Scroll to Top

Janata Media